हेटौँडा : बार काउन्सिलले लिएको परीक्षा उत्तीर्ण भएर कानून व्यवसायीको रुपमा सेवा प्रवेश गर्ने तयारीमा रहेका मकवानपुरका १५ जना नवप्रवेशी कानून व्यवसायीलाई उच्च अदालत बार एसोसिएसन हेटौँडाले स्वागत गरेको छ । बिहीबार उच्च अदालत बार एसोसिएसन हेटौँडाको सभाहलमा एसोसिएसनका अध्यक्ष मनप्रसाद भट्टराईको अध्यक्षता तथा बार काउन्सिलका सदस्य वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा नवप्रवेशी कानून व्यवसायीलाई स्वागत गरिएको हो ।
कार्यक्रममा बार काउन्सिलका सदस्य वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले नवप्रवेशी कानून व्यवसायीलाई बार काउन्सिलले तालिम दिइसकेकाले पेशामा आउन बाटो खुलेको बताउनुभयो । सुरुवाती समयमा अनुभव र सिकाईका लागि वरिष्ठ अधिवक्ताहरुले नवप्रवेशीलाई सहयोग गर्ने प्रतिवद्धता समते जनाएका छन् । ‘औपचारिक शिक्षा हासिल गर्ने क्रममा किताब पढेर शैक्षिक योग्यता र सेवा प्रवेशको परीक्षा समेत उत्तीर्ण गरे पनि व्यवहारिक ज्ञानका लागि कार्यविधि पनि अध्ययन गर्नुपर्नेमा वरिष्ठ अधिवक्ता काफ्लेले जोड दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका पूर्व न्यायाधिवक्ता वरिष्ठ अधिवक्ता सूर्यचन्द्र न्यौपाने, वरिष्ठ अधिवक्ता ईश्वर ढकाल, वरिष्ठ अधिवक्ता एकराज बास्तोला, मकवानपुर जिल्ला बार एसोसिएसनका अध्यक्ष उत्तम बस्नेतको आतिथ्य रहेको थियो ।
