हेटौंडा : मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारको शहरी विकास मन्त्रालयबाट डेढ दर्जन आयोजना प्रस्तावित गरिएको छ । मन्त्रालयको शहरी विकास/भवन निर्माण विभागबाट कार्यान्वयन हुने गरी ५० करोड रुपैयाँभन्दा बढी बजेटका १८ वटा आयोजना बजेटमा समावेश गरिएको हो ।

मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गर्नुभएको अधिकांश आयोजनाका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएका छन् । नेकपा एमालेबाट निर्वाचित प्रतिनिसभा सदस्य बर्तौलाले सार्वजनिक गर्नुभएको आयोजनामा ५ करोड ५८ लाख ५६ हजार रुपैयाँको मकवानपुरगढी गाउँपालिका–२ र ६ मा बन्ने डुम्रेकुना–लामिडाँडा (सामरी खोला) पुल छ ।

राक्सिराङ–६ को चेपाङमार्ग र मनहरी–३ को वाईचोकबाट सेपदह सडक स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यस्तै, कैलाश–१० को मर्‍याङकोट–आमडाँडा गिम्दी थाप्ले सडक स्तरोन्नतिका लागि पनि ३ करोड विनियोजन भएको छ । ३ करोड रुपैयाँ बजेटमा स्तरोन्नति हुने गरी थाहा नगरपालिका–८ को खड्गभञ्ज्याङ– गल्छी– काभ्रे– भोर्ले हुँदै धादिङ जोड्ने सडक रहेको छ ।

भीमफेदी गाउँपालिकाको कोगटे फाँडखोरियादेखि कोगटे खोलासम्मको सडक, थाहा–११ र १२ को नौखण्डे महांकाल– लिती– जगडाँडा सडक, भीमफेदी–२ को कालिकाटार– घण्टेखोला सडक, थाहा–१० को बुढीचौरबाट सीतापाइला हुँदै धादिङ जोड्ने सडक स्तरीकरणका लागि पनि ३/३ करोड विनियोजन भएको छ । थाहा–९, सिडाँडा मनकामना हुँदै वायुभिर काल्सिङ पाखाबाट ईन्द्रसरोवर गाउँपालिका–१ जोड्ने करिब ७ किलोमिटर कच्ची सडक स्तरोन्नति र इन्द्रसरोवर–४ को पुरण्डी गेट– घैयाडाँडा– काफ्लेनी– पोखरी भञ्ज्याङ– नयाँ सडक हुँदै वीर फाखेल मैत्रीपार्क सडक स्तरोन्नति तथा पक्की पिचका लागि पनि ३/३ करोड बजेट विनियोजित भएको छ ।

थाहा–३ र भीमफेदी–९ जोड्ने सोलाभञ्ज्याङ बर्देउ बाघमारा सडकका लागि क्रमागत बजेट २५ लाख तथा ईन्द्रसरोवरको बागेश्वरी– खोरङ देउराली टेकर सडकका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । राक्सिराङ गाउँपालिका–७ मा जामुने कवासे पक्की पुल निर्माणका लागि ३ करोड बजेट विनियोजित भएको छ । राक्सिराङ–४ को मदल सिं चौकीटार पक्की पुल निर्माणका लागि पनि ३ करोड बजेट विनियोजन गरिएको छ ।

हेटौंडा–२ को मकवानपुर बहुमुखी क्याम्पस भवन निर्माणका लागि ३ करोड रुपैयाँको आयोजना रहेको छ । थाहा नगरपालिकाको बागेश्वरी मावि र ईन्द्रायणी मावि तथा मकवानपुरगढी गाउँपालिकाको रुपनारायण माविमा छात्रावास निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै, मनहरी गाउँपालिकाको राष्ट्रिय रोटरी मावि, थाहा नगरपालिकाको नाटेश्वर मावि र कैलाश–७ को आधारभूत विद्यालय भवन निर्माणका लागि पनि ३ करोड रुपैयाँको आयोजना समावेश गरिएको छ ।

संघीय सरकारकै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आगामी आर्थिक वर्ष २०८२/०८३ मा कैलाश–९ को नामटार–घैराङ जडीबुटी पहुँचमार्ग निर्माणका लागि ३ करोड रुपैयाँको आयोजना रहेको बर्तौलाले सार्वजनिक गर्नुभएको छ । युवा तथा खेलकुद मन्त्रालयमार्फत् मनहरी गाउँपालिकामा निर्माण हुने मदन भण्डारी क्षेत्रीय रंगशाला निर्माणका लागि पनि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैकल्पिक सहायक मार्ग विकास कार्यक्रमअन्तर्गत् पनि मकवानपुर क्षेत्र नम्बर २ मा तीन वटा आयोजनाका लागि बजेट विनियोजन भएको छ । थानकोट– चित्लाङ सडकका लागि ६ करोड २० लाख बजेट मन्त्रालयले विनियोजन गरेको छ । यस्तै, मकवानपुरगढीको शहीद बासुदेव मार्ग र थाहा, कैलाश, राक्सिराङ र मनहरी जोड्ने रुपचन्द्र विष्ट मार्गका लागि ३ करोड बजेट विनियोजन भएको हो ।