हेटौँडा : ५३औं विश्व वातावरण दिवसको अवसरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) हेटौँडा उपमहानगर समितिको आयोजनामा ‘प्रकृति मुस्कुराएको दिन’ शीर्षकको चित्रकला प्रतियोगिता भएको छ । हेटौँडा–२ स्थित वनस्खण्डी मन्दिर परिसरमा स्थलगत चित्रकला प्रतियोगिता भएको हो ।
प्रतियोगितामा सहभागी नवोदय शिशु सदनका जी. विक्रम ढकाल, बालजागृति इङ्लिस सेकेण्डरी स्कुलका सुमित साह र जेम्स इङ्लिस बोर्डिङ स्कुलकी दिप्ती बलामी उत्कृष्ट तीनमा पर्न सफल भए । उनीहरुले जनही २ हजार ५ सय रुपैयाँ नगदसहित पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । यस्तै जीएस निकेतनकी आरोही राई, बालजागृति इङ्लिस सेकेण्डरी स्कुलका सुयोग हमाललाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । उनीहरुलाई जनही १ हजार ५ सय रुपैयाँ नगदसहित पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । प्रतियोगितामा कक्षा ६–१० सम्मका हेटौँडा उपमहानगरका २१ विद्यालयका ४१ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा सहभागी भएर विद्यार्थीले तयार पारेका चित्रहरुको प्रदर्शनी गरेर चित्रकला विक्री गरिने बताइएको छ । निश्चित मूल्य तोकेर राखिएको चित्रकला विक्रीबाट प्राप्त रकम सम्बन्धित चित्रकारलाई प्रदान गरिने सचिव गिरीले बताउनुभयो । यसअघि प्याव्सन हेटौँडा उपमहानगर समितिले अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न गरिसकेको छ भने असार महिनामा ‘मेरो विद्यालय, मेरो विश्वास’ शीर्षकमा प्राथमिक तह (कक्षा ४–५) का विद्यार्थी बीच वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने प्याव्सन हेटौँडा उपमहानगर समितिका सचिव सुदिपराज गिरीले जानकारी दिनुभएको छ ।
चित्रकला प्रतियोगिता प्याव्सन हेटौँडा उपमहानगर समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका २ नम्बर वडाका अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, उपाध्यक्ष लक्ष्मी श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।










