हेटौडा -४ कर्रा स्थित श्रमिक माविमा रहेको आइसोलेसन वार्ड

हेटौंडाः हेटौंडा अस्पतालले हेटौंडा–४, कर्रास्थित श्रमिक माविमा सञ्चालनमा ल्याएको ३५ बेडको आइसोलेसन वार्ड त्यहाँबाट सारिने भएको छ । सरकारले शैक्षिक गतिविधि सञ्चालन गर्ने र स्थानीय सरकारले विद्यालयमा भएका आइसोलेसन, क्वारेन्टाइन हटाउने भनेपछि श्रमिक माविमा सञ्चालित आइसोलेसन वार्ड सार्ने तयारी गरेको हेटौंडा अस्पतालले जनाएको छ ।

हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले शैक्षिक गतिविधि सञ्चालन गर्न आवश्यक र प्रमुख विषय भएको भन्दै त्यहाँबाट सारिने जानकारी दिनुभयो । आइसोलेसन वार्ड सारेर कुन स्थानमा राखिने भने टुंगो नलागेको तथा स्थानको खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो । उहाका अनुसार पहिलो चरणमा गौरीटार रंगशाला र हेटौंडा–१ को सिद्धार्थ माविलाई वैकल्पिक रुपमा हेरिएको छ । अन्य स्थानहरु पनि खोजीभैरहेको अस्पताल प्रमुख डा. श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाको नियन्त्रण तथा रोकथाम गर्न सम्बन्धित अस्पतालले आइसोलेसन वार्ड सञ्चालन गर्ने र बागमती प्रदेश सरकारले अस्पताललाई खर्च भएको रकम भुक्तानी गर्ने व्यवस्था भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासकीय चिकित्सक डा. पुरुषोत्तम राज सेढाईले बताउनुभयो ।

सहकार्य र सहयोग भने मन्त्रालयले गर्ने उहाँले बताउनुभयो । यता सिद्धार्थ माविको व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईले अहिलेको अप्ठेरो स्थितिमा सरकारलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । हेटौंडा–१, चौकीटोलस्थित सिद्धार्थ माविको वनविज्ञान संकाय सञ्चालनमा रहेको भवन आइसोलेसन वार्ड राख्ने कुरा आफुसँग पनि आएको तर त्यहाँका स्थानीयहरु के भन्छन् त्यो पनि महत्वपूर्ण हुने उहाँको भनाइ छ । त्यस्तै फेरि सरकारले पठनपाठन खुलाउँदा विद्यालयले वनविज्ञान संकायको अध्यापन पनि सुचारु गर्नुपर्छ । सकेसम्म अन्य सुरक्षित स्थान भेटिएमा त्यहा आइसोलेसन वार्ड राख्न उहाँले सुझाव दिनुभएको छ ।

अहिले हेटौंडाको कर्रामा रहेको श्रमिक माविमा ३५ बेडको आइसोलेसन वार्ड सञ्चालनमा छ ।
आइसोलेसनमा कोरोना संक्रमितसँगै लक्षण देखिएका व्यक्तिहरुलाई मात्र राखेर उपचार गरिने आइसोलेसन वार्ड इन्चार्ज भोला चौलागाईले बताउनुभयो । सुरुवाती चरणमा आइसोलेसनलाई क्वारेन्टिन जस्तै गरेर सञ्चालन गरे तापनि अब त्यस्तो नहुने उहाँले बताउनुभयो । अहिले हेटौंडा स्थित आइसोलेसनमा ४ जना कोरोना संक्रमित रहेका छन् । उनीहरुलाई निको भएपछि मात्रै डिस्चार्ज गरिने आइसोलेसन वार्डका इन्चार्ज चौलागाईले बताउनुभयो ।