हेटौँडा : हेटौँडा–१८, खड्कुलेस्थित मकवानपुर बालविद्या सदन (एमबिबिएस) ले शुक्रबार विद्यालय परिषद्को चुनाव सम्पन्न गरेको छ । निर्वाचनबाट विद्यालय कप्तान परिषद्को कप्तानको रुपमा कक्षा–८ मा अध्ययनरत असिम लामा निर्वाचित हुनुभएको छ । कप्तान परिषद्को उपकप्तानमा कक्षा ८ कै उत्सव खतिवडा निर्वाचित हुनुभएको छ ।
कक्षा कप्तानहरुमा कक्षा ४ का ‘फिनिक्स’ बाट निश्चल मोक्तान, कक्षा ४ ‘यति’ बाट सिमोन बानियाँ, कक्षा ५ बाट जेम्स तामाङ, कक्षा ६ बाट आरभ चौलागाइँ, कक्षा ७ बाट जेनिशा बानियाँ, कक्षा ८ बाट प्रभास राना, कक्षा ९ बाट सोनिका भुलुन निर्वाचित भएका छन् । कक्षा १० को कप्तानमा सन्ध्या विश्वकर्मा निर्विरोध निर्वाचित भएकी छन् ।
विद्यालयको कप्तान नै कप्तान परिषद्को अध्यक्ष तथा उपकप्तान उपाध्यक्ष रहने व्यवस्था रहेको छ । निर्वाचित मध्यबाट एकजनालाई परिषद्को पहिलो वैठकबाट सचिव र एकजनालाई कोषाध्यक्षको रुपमा चुनिने व्यवस्था रहेको विद्यालयका सूचना अधिकारी स्पन्दन गिरीले जानकारी दिनुभएको छ । वितेजा सम्पूर्णलाई शुक्रबारै निर्वाचन आयुक्त मिनप्रसाद सञ्जेलले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको छ । विजयी उम्मेदवारहरुलाई आइतबार सपथ ग्रहण गराई कप्तान, उपकप्तान र कक्षा कप्तानको व्याज वितरण गरिने जनाइएको छ ।
नेपालको परिवेशलाई मध्यनजर गरि विद्यार्थीहरुले आफ्ना अभिभावक तथा छिमेकीहरुलाई मतदान गर्ने प्रक्रिया सिकाउन सकुन्, निर्वाचनलाई सहज ढङ्गबाट आत्मसात गरुन्, विद्यार्थीको प्रतिनिधिको रुपमा लिनुपर्ने जिम्मेवारी बोध गर्न सकुन् र मत दिनु मात्र नभई असल उम्मेदवारलाई मत दिनु किन महत्वपूर्ण छ भनेर बुझुन् भन्ने उद्देश्यले ५ वर्षदेखि विद्यालयले निर्वाचन अभ्यास गर्दै आएको निर्वाचन समितिकी सदस्य सृजना थापा मगरले बताउनुभएको छ ।











