हेटौँडा : हेटौँडा–ललितपुर कान्तिलोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बागमती खोलाले बिहीबार बिहान दुई वटा सवारी साधन बगाएको छ । अविरल वर्षाका कारण पानीको बहाव बढेपछि एउटा तेल ट्यांकर र एउटा डब्बा ट्रक खोलाले बगाएको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार बाराको अमलेखगञ्जबाट डिजेल बोकेर काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क २०३१ नम्बरको ट्यांकर पुल नजिकैको चिप्लो र हिलो बाटोमा अनियन्त्रित भई खोलामा खसेको हो । ट्यांकर चालक वीरगंज महानगरपालिका–२१ का २६ वर्षीय कृष्ण महतो भने गाडी खस्नुअघि नै हामफालेर ज्यान जोगाउन सफल भएका छन् ।

यस्तै वीरगंज भन्सारबाट सामान बोकेर काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ५१९६ नम्बरको डब्बा गाडी पनि खोला नजिकै पार्किङ गरेर राखिएको अवस्थामा पानीको तेज बहावले बगाएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार दुबै सवारी खोलाको बहावमा परेर बगे पनि मानवीय क्षति भने भएको छैन ।
यसअघि गएराति खसेको सुख्खा पहिरोका कारण ललितपुर र हेटौँडा जोड्ने कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८, भर्याङडाँडामा ढुंगासहितको सुक्खा पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध भएको हो । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।











