हेटौँडा: हेटौँडा–४ स्थित नवोदय शिशु सदनले विद्यार्थीको सहभागितामा नमूना संयुक्त राष्ट्रसंघीय महासभाको आयोजना गर्ने भएको छ । भोलि बिहीबारदेखि ३ दिनसम्म नमूना महासभाको आयोजना गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । कक्षा–८, ९ र १० मा अध्ययनरत विद्यार्थीको सहभागितामा संयुक्त राष्ट्रसंघको विभिन्न सात वटा समिति समेत गठन गरी समसामयिक मुद्दामा छलफल गर्ने गरी तीनदिनसम्म महासभाको आयोजना गर्न लागिएको नमूना महासभाका महासचिव निकेश श्रीवास्तवले जानकारी दिनुभयो ।

महासभामा मकवानपुरकै अन्य २ विद्यालयसँगै छिमेकी जिल्ला चितवन, नवलपरासी, रौतहट, कास्की रुपन्देहीका विद्यालयबाट समेत विद्यार्थी सहभागी हुनेछन् । विद्यार्थीलाई अन्तर्राष्ट्रिय साझा संस्थाको अभ्यासका साथै कुटनीतिक अभ्यासको विषयमा जानकारी गराउने उद्देश्यले नवोदय शिशु सदनले पाँचौं संस्करणको नमूना महासभा आयोजना गर्न लागेको हो । कोभिड–१९ महामारीको समयमा २ पटक भर्चुअली नमूना महासभाको आयोजना गरिएको थियो । यस वर्ष २ सय ५० विद्यार्थीको सहभागिता रहने बताइएको छ ।

नमूना महासभामा राष्ट्रसंघीय सात वटा विभिन्न संगठनहरुको ढाँचामा विद्यार्थीले भूमिका निर्वाह गर्नेछन् । विश्व स्वास्थ्य संगठन, सुरक्षा परिषद्, मानव अधिकार परिषद्, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम, अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्रसंघीय बाल कोष र संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रममा विद्यार्थीले प्रस्तुती गर्नेछन् ।