हेटौँडा : मकवानपुरका कैलाश गाउँपालिकाका वडा नम्बर ३, ४ र ७ का ९९ घरधुरीलाई सुधारिएको धुँवारहित चुलो वितरण गरिएको छ । सोमबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले चुलो हस्तान्तरण गर्नुभयो । गाउँपालिकामा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट एशोसिएसनले तीन वटा वडामा घरधुरी सर्वेक्षण गरेर छनौटमा परेका ९९ घरलाई चुलो प्रदान गरेको हो ।
कार्यक्रममा अध्यक्ष मुक्तानले सुधारिएको चुलो वातावरण र स्वास्थ्यमैत्री रहने बताउनुभयो । घरमा भएका साना बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई धुँवाले प्रतिकुल असर पारिरहेको अवस्थामा यी चुलोहरुले स्वास्थ्यमा सहयोग पुग्ने बताउनुभयो । ‘घरमा लगेर नराख्नुस्, लगेपछि प्रयोग पनि गर्नुस्’, अध्यक्ष मुक्तानले भन्नुभयो । केही संख्यामा ग्याँस प्रयोगकर्ता भए पनि धेरैले दाउरा नै प्रयोग गर्ने गरेकोले अब यस चुलोले धेरै राहत पुग्ने उहाँले बताउनुभयो ।
स्वास्थ्य र शिक्षामा सांग्रिलाले धेरै नै लगानी गर्दै आइरहेको गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले बताउनुभयो । आफ्नो मर्म र भावनालाई आत्मसात् गर्दै जून किसिमको काम गरिरहेको छ त्यसमा गाउँपालिकाले साथ सहयोग प्रदान गर्ने उहाँले बताउनुभयो । उहाँले चुलो प्रयोग गरेर सक्दो फाइदा लिन स्थानीयलाई आग्रह समेत गर्नुभयो । सांग्रिला डेभलपमेन्ट एशोसिएसनका कार्यक्रम संयोजक मधुसुदन राउतको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष देवलाल बल, वडा नम्बर ४ का वडा सदस्य नमराज चेपाङ, कटुञ्जे स्वास्थ्य चौकीका प्रमुख आशाकुमारी गुरुङलगायतको आतिथ्य रहेको थियो ।
स्वास्थ्य परियोजना अन्तर्गत सुधारिएको धुँवारहित चुलो वितरण गरिएको कार्यक्रम संयोजक राउतले बताउनुभयो । ‘हामीले घरधुरी सर्वे गर्यौ, प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाएपछि प्राथमिकतामा परेर छनौट भएका ९९ घरधुरीलाई चुलो वितरण गरेका हौं’, राउतले भन्नुभयो । उहाँले लाभग्राहीलाई चुलो राम्रोसँग प्रयोग गर्न आग्रह गर्नुका साथै चुलोबाट फाइदा हुनाले सक्दो उपयोग गर्नु आग्रह गर्नुभयो । ‘हामीले पाँच जना प्राविधिकलाई तालिम दिएका छौं, उनीहरुले नै चुलो जडान गर्न सक्छन्’, राउतले भन्नुभयो । चुलो उपयोगले दाउराको कम प्रयोग हुनुका साथै विभिन्न रोगबाट बच्न सकिने छ । गाउँपालिकासँगको समन्वयमा एशोसिएसनले विभिन्न स्वास्थ्य र शिक्षाका क्षेत्रमा कामहरु गर्दै आइरहेको छ ।











