अभिभावक–विद्यार्थीसँग अन्तरक्रिया गर्दै प्राधानाध्यापकसहित व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरु ।

हेटौँडा : हेटौँडा–१८ स्थित कमला आधारभूत विद्यालयले शैक्षिक सत्रको सुरुवातमै घरदैलो पुगेर अभिभावकसँग अन्तरक्रिया गरेको छ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, प्रधानाध्यापकसहितको समूह गत मंगलबार मकवानपुरगढी गाउँपालिका–१ फुलबारीका विद्यार्थीका अभिभावकहरुलाई लक्षित गरी घरदैलो कार्यक्रम गरिएको हो ।

विद्यालयमा अभिभावकको चासो अभिवृद्धि गर्न, कुनै किसिमको गुनासा भए त्यसलाई संकलन गर्न, विद्यार्थीको वर्तमान अवस्थाका बारेमा अभिभावकलाई जानकारी गराउन घरदैलो गरिएको हो । यसका साथै यसै शैक्षिक सत्रदेखि फूलबारी क्षेत्रबाट आएका विद्यार्थीका अभिभावकसँग यातायात सुविधा, शूल्क, पठनपाठनको विषयमा अभिभावकसँग बुझ्न घरदैलो कार्यक्रम गरिएको प्रधानाध्यापक गोविन्द उप्रेतीले जानकारी दिनुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ तिमल्सिना, शिक्षक अभिभावक संघकी अध्यक्ष मेनुका बजगाईसहित शिक्षकको समूह फूलबारी पुगेर अभिभावकसँग अन्तरक्रिया गरेको हो ।

फूलबारीका विद्यार्थीलाई लक्षित गरेर विद्यालयले यातायात सेवा समेत उपलब्ध गराएको र उक्त सेवाको प्रभावकारिताको विषयमा पनि छलफल गरिएको प्रधानाध्यापक उप्रेतीले जानकारी दिनुभयो । फूलबारीबाट अहिले ४० जना विद्यार्थी गाडीमा ल्याउने व्यवस्था गरिएको छ । यातायात शूल्क वापत ७ सय रुपैयाँदेखि ८ सय रुपैयाँ दर निर्धारण गरिएको प्रधानाध्यापक उप्रेतीले बताउनुभयो । अभिभावकलाई बोलाउनुभन्दा विद्यालयको टोली नै समुदायमा जानु उपयुक्त हुने ठहर गरेर फूलबारी गएको उहाँको भनाइ छ । ८ कक्षासम्म पठनपाठन हुने कमला आधारभूत विद्यालयमा ३०० विद्यार्थी अध्ययनरत छन् ।