मन्त्रीपरिषद् बैठकमा सहभागी मुख्यमन्त्री तथा मन्त्रीहरु ।

हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार प्रदेश सरकारले विभागीय मन्त्रालयहरुले समावेश गरेको नीति कार्यक्रम विभिन्न चरणमा सरोकारवाला निकायसँग छलफल गरी मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको हो । मन्त्रालयहरुले आगामी आर्थिक वर्षको बजेटमा समेट्ने गरी प्रभावकारी ढंगबाट नीति तथा कार्यक्रम तयार गरेको उहाँले बताउनुभयो ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएको नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकबाट सार्वजनिक गरिने उहाँले बताउनुभयो । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्न प्रदेश सभाको बैठक जेठ १४ गते १ बजेका लागि आह्वान गरिएको उहाँले जानकारी दिनुभयो । उक्त बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आगामी आर्थिक वर्ष २०८२/०८३ वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेश प्रमुख देवकोटालाई औपचारिक पत्राचार समेत गरिसक्नुभएको छ । सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोशाकमा उपस्थित हुन निर्देशन समेत गरिसक्नुभएको छ ।