हेटौँडा: सिन्धुली, धादिङ र चितवन जिल्लामा ३ जना मृत भेटिएका छन् । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६, छापडाँडाकी ४५ वर्षीया दिलमाया वाइबाको घरको बरान्डामा लडेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । दिलमायामा उच्च रक्तचापसम्बन्धी स्वास्थ्य समस्या रहेको थियो ।
यता धादिङ जिल्लाको गजुरी गाउँपालिका–४, गुरुगाउँमा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । गुरुगाउँकी ७ वर्षीया मनिषा चेपाङ छरछरे खोला तर्ने क्रममा बगाएको प्रहरीले जनाएको छ । खोलाले बगाएर एक सय ५० मिटर तल मृत अवस्थामा भेटिएको प्रहरीले उल्लेख गरेको छ । यता भरतपुर महानगरपालिका–१, ठिमुरामा एक वृद्ध मृत अवस्थामा भेटिएका छन् । ७३ वर्षीय कर्ण बहादुर खड्का बाटो छेउमा मृत अवस्थामा भेटिएको हो ।











