म्यान अफ म्याच साजन लोप्चन रुपैयाँसहित ट्रफी ग्रहण गर्दै

हेटौंँडाः हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा जारी पाँचौं हेटौँडा मेयरकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलमा हेटौँडा–१ र १८ नम्बर वडा विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

पहिलो चरणको खेलमा हेटौँडा–१ ले हेटौँडा–६ लाई ४–२ गोलअन्तरले पराजित गर्दै उत्साहजनक क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा गोल बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइबेकरमा वडा नम्बर १ ले वडा नम्बर ६ लाई १–० गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको हो । वडा नम्बर १ का खेलाडी योगेश लोप्चन म्यान अफ द म्याच घोषित हुँदै नगद २ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।

यस्तै, दोस्रो चरणको खेलमा हेटौँडा–१८ ले हेटौँडा–१७ लाई १–० गोलअन्तरले पराजित गरेको छ । प्रतियोगिताको निर्धारित समयमा राजेश पाण्डेले गरेको गोल नै निर्णायक गोल बनेको हो । म्यान अफ म्याच साजन लोप्चन भए । उनले नगद २ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख पाउनेछ । आयोजक समितिका विजय गौतमका अनुसार आइतबार पहिलो चरणको खेल अन्तर्गत हेटौँडा–१५ र हेटौँडा–१० एवम् हेटौँडा–८ र हेटौँडा–३ बीच प्रतिस्पर्धा हुनेछ ।