हेटौंडा: मकवानपुर जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा प्रथम मकवानपुर जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता हेटौँडामा भइरहेको छ। हिजो शुक्रबारदेखि सुरु भएको प्रतियोगिता आज शनिबार सम्पन्न हुनेछ।
प्रतियोगिता मकवानपुर जिल्ला टेबलटेनिस सङ्घका अध्यक्ष सुशान्त गिरीको सभाध्यक्षता र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाको आतिथ्यमा उद्घाटन भएको हो । प्रतियोगितामा ३२ जना खेलाडीको सहभागिता रहेको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजित प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा प्रथम पुरस्कार २० हजार रुपैयाँ, द्वितीय पुरस्कार १० हजार रुपैयाँ, तृतीय पुरस्कार ५ हजार रुपैयाँ र सान्त्वना पुरस्कार ५ हजार रुपैयाँ प्रदान गरिनेछ।











