कार्यक्रममा उद्घाटन गरिँदै ।

हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टको आयोजनामा प्राध्यापक, विद्यार्थी र उद्योगी, व्यवसायीबीच दुई दिवसीय छलफल सुरु भएको छ । म्यानेजमेन्ट परिसरमै शुक्रबार एक समारोहका बीच उद्घाटन समारोह भएको थियो । म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको अध्यक्षता तथा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका सहायक डीन प्रा.डा. दिलिप पराजुलीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो ।

२ दिनसम्म सञ्चालन हुने छलफलमा विश्वविद्यालय तहको अध्यापन गराउने शैक्षिक संस्था र रोजगारदाताको रुपमा मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । हेटौँडा स्कूल अफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालयअन्तर्गत वनविज्ञान अध्ययन संस्थान, कृषि तथा वन विज्ञान विश्वविद्यालय, हेटौँडा क्याम्पसका प्राध्यापकहरुको सहभागिता रहेको छ ।

उद्यम, व्यवसायको सञ्चालन, व्यवस्थापन र प्रवर्धनको सन्दर्भमा उच्च शिक्षा प्रदायक संस्था र रोजगारदाता निकायका अधिकारीबीच छलफल गरेर प्रभावकारी योजना बनाउने, उच्च शिक्षा हासिल गरेका युवालाई रोजगारीको अवसर सिर्जना गर्न उपयोगी हुने विश्वास गरिएको छ । यसअघि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २०७९ सालमा पनि यस किसिमको छलफल आयोजना गरिएको थियो ।