पुरस्कार वितरण कार्यक्रमपछि खिचिएको तस्वीर ।

हेटौँडा : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) हेटौँडा उपमहानगर समितिको आयोजनामा नगरस्तरीय आधारभूत तह (कक्षा ६–८) अंग्रेजी हिज्जे प्रतियोगिता शुक्रबार भएको छ । २९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा हेटौँडा–४ स्थित ब्रह्मदिक् एकेडेमीका विद्यार्थीहरु विजय भूषण दाहाल, आश्रय लोप्चन र सदीक्षा घलानको समूह प्रथम भएका छन् ।

यस्तै हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदनका विद्यार्थीहरु ज्यासमिन खातुन, आभान्स बास्कोटा र सदीक्षा शर्माको समूह द्वितीय हुँदा हेटौँडा–३ स्थित शिक्षा विकास शिशु सदनका विद्यार्थीहरु प्रमिता गोले, सुकन्या कार्की र ग्लोरी तामाङको समूह तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्याव्सन हेटौँडा उपमहानगर समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षता तथा प्याव्सन केन्द्रीय समितिकी सहकोषाध्यक्ष ग्रेस श्रेष्ठको प्रमुख आतिथ्यमा हिज्जे प्रतियोगिताको उद्घाटन समारोह भएको थियो ।

हेटौँडा–८ स्थित एम ग्यालरीमा भएको कार्यक्रममा वडाध्यक्ष रामकृष्ण थापाको पनि आतिथ्य रहेको थियो । प्याव्सन हेटौँडा उपमहानगर समितिले चालु शैक्षिकसत्र–२०८२ लाई विद्यार्थी लक्षित कार्यक्रमको वर्षको रुपमा अघि बढाउने गरी प्रत्येक महिना कम्तिमा एउटा कार्यक्रम गर्ने गरी कार्यतालिका बनाएर अघि बढेको सचिव सुदीपराज गिरीले जानकारी दिनुभएको छ । यही जेठ २२ गते वातावरण दिवसको दिन वातावरण संरक्षणको विषयमा खुला चित्रकला प्रतियोगिता आयोजना गर्दैछ ।