हेटौँडा: काठमाडौंमा जारी बागमती प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा पनि मकवानपुर जिल्ला विजयी भएको छ। शुक्रबार भएको खेलमा मकवानपुरले भक्तपुरलाई ६ विकेटले पराजित गरेको हो। यसअघि बिहीबार मकवानपुरले काठमाडौंलाई ४० रनले पराजित गरेको थियो।
शुक्रबार टस जितेर पहिले व्याटिङमा उत्रिएको भक्तपुरले ३५ ओभरमा १० विकेट गुमाउँदै १५० रन जोड्न सफल भयो। भक्तपुरका इन्जमाम उल हकले ३०, राजदीप आचार्यले २५ रन र कृष्ण मालासीले २२ रन जोडे। मकवानपुरका रोहित ठाकुर र जमाल रेनले २/२ विकेट लिए।
१५१ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको मकवानपुरले ३३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। मकवानपुरको जीतमा शिवशक्ति महतोले अर्धशतक बनाए। महतोले ७९ बलमा ५९ रन जोडे। महतो प्लेयर अफ द म्याच घोषित भए। मकवानपुरका मोहम्मद गुलामले पनि ३५ रन बनाए। मकवानपुरले तेस्रो खेल आइतबार ललितपुरसँग खेल्नेछ।
