
हेटौँडा : यातायात व्यवसायीले सरकारलाई मालवाहक सवारी साधनको नियमन बढाउन माग गरेका छन् । भारवहन क्षमताभन्दा बढी तौलमा सामग्री ढुवानी गर्दा सडक र पुल जस्ता पूर्वाधारमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै नारायणी यातायात व्यवसायी कम्पनि प्रालिले बिहीबार हेटौँडामा पत्रकार सम्मेलन गरेर सरकारको ध्यानाकर्षण गराएको हो ।
यसअघि पनि सरकारको ध्यानाकर्षण गराए पनि नियन्त्रणको प्रभावकारी प्रयास नभएको उल्लेख गर्दै सञ्चार माध्यममार्फत सरकारको ध्यानाकर्षण गराउन चाहेको संघले जनाएको छ । संघका कार्यकारी सञ्चालक माधव अधिकारीले देशका विभिन्न स्थानमा पक्की पुलमा क्षति पुग्नुको कारण क्षमता भन्दा बढी भारवहन गरेका सवारी साधन सञ्चालन हुनु रहेको उहाँले जीकिर गर्नुभयो । राजमार्गमा सञ्चालनमा रहेका तौलपुलमार्फत क्षमताभन्दा बढी भारवहनलाई नियन्त्रण गर्नुपर्ने काम पनि प्रभावकारी हुन नसकेको संघको ठहर छ । विशेषगरी पुलहरुको मर्मत सम्भार र क्षमता विकासमा सरकारको ध्यानाकर्षण गराउँदै संघले समस्या समाधानमा सरकारको प्रयासमा संघको साथ रहने जनाइएको छ ।
नारायणी यातायात व्यवसायी कम्पनि प्रालिका अध्यक्ष गोकर्णप्रसाद पराजुलीले ढुवानी व्यवसायमा मूल्य अभिवृद्धि करको कडाईका साथ लागू गर्न र कडाईका साथ लागू गर्न नसक्ने भए खारेजी गर्न समेत माग गर्नुभयो । राजमार्गको मर्मत गरी यातायातलाई सुरक्षित बनाउन सरकारसँग व्यवसायीले माग गरेका छन् । सवारी साधन दुर्घटना हुने क्रम बढेको र दुर्घटना बढ्नुमा पनि बढी भारवहन भएका सवारी साधन सञ्चालन हुनु प्रमुख कारण भएको व्यवसायीले औँल्याइएको थियो ।