हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट एकजना महिला घाइते भएकी छिन् । प्रहरीका अनुसार घाइते हुनेमा स्थानीय ४० वर्षीया फूलमाया चेपाङ रहेकी छिन् ।
चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने मनहरी गाउँपालिका–९ स्थित ज्यामिरे मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी फुलमायालाई बिहीबार दिउँसो बाघले आक्रमण गरेर घाइते बनाएको हो । बाघको आक्रमणबाट उनको गर्धन र गालामा गम्भीर चोट लागेको छ । घाइते फुलमायाको मनहरी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार फूलमायासहित चार जना महिलाहरु बिहीबार दिउँसो घाँस काट्न सामुदायिक वनमा गएका बेला बाघले आक्रममण गरेको थियो । घाँस काटिरहेका बेला फूलमायालाई एक्कासी बाघले आक्रमण गरेको बताइएको छ ।
बाघले आक्रमण गरेपछि महिलाहरुले ठूलो आवाजमा कराएसँगै बाघ जंगलतिर गएको बताइएको छ । घटनापछि स्थानीय त्रसित बनेका छन् । सुरक्षा निकाय र स्थानीय वन उपभोक्ता समितिले वन क्षेत्रमा जाँदा सतर्कता अपनाउन आग्रह गरेका छन् । यसअघि पनि मनहरीमा बाघले पटक–पटक स्थानीयलाई आक्रमण गरेको छ । केही समयअघि एउटा बाघलाई नियन्त्रणमा समेत लिएको थियो भने एउटा बाघ भैंसीको प्रतिकारमा मारिएको थियो ।










