हेटौँडा : पेशागत महासंघ नेपालको स्थापना दिवसको अवसरमा पेशागत महासंघ मकवानपुरले विद्यालयलाई खाद्यान्न सहयोग गरेको छ । ३१औं स्थापना दिवसको अवसरमा मंगलबार आवासीय सुविधासहितको संस्कृत वेद विद्यालयलाई खाद्यान्न सहयोग गरिएको हो ।
पेशागत महासंघ मकवानपुरका अध्यक्ष श्रीराम दहालको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो । १५ हजार रुपैयाँ बराबरको ३ बोरा चामल, १ बोरा चिउरा, २ बोरा भुजा, १ काटुन तेल, १० केजी दाल, १० केजी चिनी र १ केजी चियापत्ति सहयोग गरिएको पेशागत महासंघ मकवानपुरका अध्यक्ष श्रीराम दहालले जानकारी दिनुभयो ।
हेटौँडा–१० स्थित संस्कृत वेद विद्यालयमा आवासीय सुविधासहित ४० जना विद्यार्थी संस्कृत विषय अध्ययनरत छन् । ५ कक्षादेखि ८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा मकवानपुरसहित बाहिरी जिल्लाका विद्यार्थी पनि अध्ययनरत छन् ।










