हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले किशोरकिशोरीसँग अन्तरक्रिया कार्यक्रम सुरु गर्नुभएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा रुद्राक्ष समाज नेपालको आयोजनामा कार्यक्रम सुरु भएको हो ।
सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्य तथा समाजका अध्यक्ष पुरुषोत्तम ठकुरीको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो । कार्यक्रममा अध्यक्ष मुक्तानले गाउँपालिकाले बालबालिकाका साथै किशोरकिशोरी, युवा र जेष्ठ नागरिकलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताउनुभयो । पालिकाले १२ पास र २० वर्ष पूरा गरी विवाह गर्ने चेलीहरुलाई नगदसहित सम्मान समेत गर्दै आइरहेको मुक्तानले जानकारी गराउनुभयो । ‘दीगोपनाका लागि यी यस्ता कार्यक्रमहरु गर्दै आइरहेको अवस्थामा छिट्टै नै बालबालिका केन्द्रीत खेलकुदका कार्यक्रम गर्न लागेका छौं”, अध्यक्ष मुक्तानले भन्नुभयो ।
अन्तरक्रिया कार्यक्रमले बालबालिका, किशोरकिशोरी र युवाका कुरा संकलित हुने र आगामी नीति तथा कार्यक्रममा ती विषयवस्तु समेटेर अघि बढ्ने अध्यक्ष मुक्तानले प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले विद्यालयस्तरमा रहेका किशोर विद्यार्थीहरुको अन्तरक्रियाले स्थानीय सरकारलाई बालबालिका र युवा लक्षित कार्यक्रम निर्माण गर्न सहज रहने बताउनुभयो । अन्तरक्रियाको क्रममा उठेका साझा विषयवस्तुलाई प्रतिवेदन स्वरुप गाउँपालिकामा पेश गरिने समाजका अध्यक्ष ठकुरीले बताउनुभयो । अन्तरक्रियामा मनोपरामर्श र नेतृत्व विकासका विषयमा पनि छलफल गरिने उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकामा रहेका ६ वटा माध्यामिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुको सहभागितामा अन्तरक्रिया सञ्चालन गरिने जनाइएको छ । तालिमलाई बालबालिका तथा युवा क्षेत्रमा सक्रिय रहेका बालिका चौधरीले सहजीकरण गरिने तय रहेको समाजका अध्यक्ष ठकुरीले बताउनुभयो । सोमबारबाट सुरु भएको तालिम शुक्रबार समापन हुनेछ । कार्यक्रममा प्रशिक्षक बालिका चौधरी, भवानी माध्यामिक विद्यालयका प्रधानाध्यापक बालचन्द्र मल्ल, गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रमिला सापकोटालगायतको आतिथ्य रहेको थियो ।











