हेटौँडा : बागमती प्रदेशसभा बैठक सुरु भएको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक साढे २ घण्टा ढिलो गरी सुरु भएको हो । सत्तापक्ष र प्रतिपक्षी दल बीच सहमति हुन नसक्दा पटक–पटक रोकिँदै आएको बैठक प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र बैठक सुचारु गर्न सहमत भएपछि सुचारु भएको हो ।
विगतका सहमति कार्यान्वयनको माग गर्दै आएको प्रतिपक्षी दलले तत्काल सरकारको नीति कार्यक्रम ल्याउन दिन तयार भएपछि बैठक संचालन भएको हो । बजेट रकमान्तरको बटमलाइनमा अड्किएका प्रतिपक्षीको माग सरकारले क्रमिकरुपमा सम्बोधन गर्दै अघि बढ्ने प्रतिवद्धतापछि बैठक संचालन भएको हो ।
प्रदेशसभाको बैठकमा विशेष समयको कार्यसूचि रहेको छ भने मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन, समितिहरुबाट तयार भएका प्रतिवेदनहरु पेश हुने कार्यसूचि रहेको छ । बैठकमा प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)को प्रस्ताव पेश हुनेछ ।











