Home मुख्य समाचार प्रशंसनीय खेलकुद अवार्ड

प्रशंसनीय खेलकुद अवार्ड

बागमती प्रदेश सरकारले आइतबार प्रथम बागमती खेलकुद अवार्ड प्रदान गर्‍यो । अवार्डबाट ८ विधाका १३ जना खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी सम्मानित भएका छन् । खेलकुदमार्फत देशलाई पदक दिलाउने खेलाडी, खेलाडीलाई तयार पार्ने प्रशिक्षक र खेलकुद पदाधिकारीको सम्मानमा प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको खेलकुद अवार्ड कार्यक्रम प्रशंसनीय छ । प्रदेश सरकारले छोटो समयमै अवार्ड कार्यक्रम सम्पन्न गरेको हो । बागमती प्रदेशको राजधानी हेटौँडाको हुप्रचौरमा आयोजित समारोह भने औसत रह्यो । प्रि–मनसुन अवधिमा खुला आकासमुनी साँझको समयमा अवार्ड समारोह गर्दै गर्दा मौसमकै कारण कुनै किसिमको अवरोध रहेन । यस अर्थमा पनि अवार्ड कार्यक्रम सकारात्मक मान्न सकिन्छ । अवार्ड कार्यक्रम सम्पन्न भएको रात हेटौँडामा शिलत वर्षा भयो । प्रदेश राजधानीमा आएर अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी सम्मानित हुनु प्रदेश राजधानीवासीका लागि पनि खुसीको विषय हो ।

प्रदेश सरकार स्थापनाको ८ वर्ष पूरा हुँदै गर्दा प्रदेश अवार्डबाट सम्मानित हुने अधिकांश खेलाडी, प्रशिक्षक र पदाधिकारी भने संघीयता र प्रदेश संरचना आउनु अघिकै उपलब्धीका लागि पुरस्कृत भएको देखिन्छ । संघीयता र प्रदेश सरकारको स्थापनापछि खेल क्षेत्रमा उल्लेखनीय विकास भई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा मुलुकको खेलकुदको विकास भएको देखिन्न । खेलकुदको विकासमा पूर्वाधारको विकास, नियमित खेल प्रशिक्षण, उपयुक्त खेल तालिका, दक्ष प्रशिक्षकको व्यवस्थापन, खेल सामग्रीको पर्याप्तता, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र सहभागिता जरुरी रहन्छ । खेलकुदको समग्र विकास गर्ने स्पष्ट खाका विपरित अव्यवस्थितरुपमा प्रतियोगिताको आयोजना हुने गरेको छ । प्रतियोगिताको नियमितता पनि उत्तिकै समस्या छ ।

यसबीचमा बागमती प्रदेश सरकारले आकस्मिक रुपमा प्रदेश खेलकुद अवार्ड कार्यक्रम छोटो अवधिमै सम्पन्न गरेको छ । खेलाडी, प्रशिक्षक, खेल पदाधिकारीलाई सम्मान गर्ने कार्यक्रम नियमितरुपमा आयोजना गर्ने चुनौतिको सामना गर्न प्रदेश सरकार तयार छ या छैन यो आगामी दिनमा देखिएला तर, यसको निरन्तरता जरुरी छ । खासगरी मन्त्री, मुख्यमन्त्री परिवर्तनसँगै यस्ता कार्यक्रम नियमित नहुने समस्या छ । एउटा सरकारको काम अर्को सरकार गठन हुँदा निरन्तरता नपाउने समस्या छ । वर्तमान सरकारले कुनै योजना कार्यान्वयन गर्दै गर्दा त्यसको बलियो आधार नबनाउनु पनि उत्तिकै अनौठो विषय हो । योजना बनाउँदै गर्दा सरोकारवाला पक्षसँग पर्याप्त छलफल, परामर्श र सहकार्य गर्दै सुरुवात गरेको खण्डमा भोलिका दिनमा यसले निरन्तरता पाउने अवस्था रहन्थ्यो ।

उपयुक्त योजना, प्रभावकारी कार्यान्वयन र बढीभन्दा बढी लाभ हासिल गर्दै यसको निरन्तरताका लागि आवश्यक मिहिनेत गर्नेतर्फ ध्यान पुग्न नसकिरहेको वर्तमान समयमा बागमती प्रदेश खेलकुद अवार्डको दीर्घायु रहोस् । यसका लागि प्रदेश सरकार, खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद् र सरोकारवालाको जिम्मेवार भूमिका रहोस् ।

Exit mobile version