हेटौँडाः केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौँडा र मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा तेस्रो संस्करणको पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सेमिफाइनल समीकरण पूरा भएको छ । हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा जारी प्रतियोगितामा सोमबार लिग चरणको अन्तिम खेलहरु सम्पन्न भएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो ।
समूह समचरणको खेलबाट हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी र बकैया गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । आज मंगलबार सेमीफाइनल र फाइनल खेल हुनेछ । सेमिफाइनल चरणमा समुह ‘क’ को विजेता हेटौँडा उपमहानगरपालिकाले समुह ‘ख’ को उपविजेता भीमफेदी गाउँपालिकाको टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमीफाइनलमा समुह ‘ख’ को विजेता थाहा नगरपालिका र समुह ‘क’ को उपविजेता बकैया गाउँपालिकाको टिम भिड्ने छन् । फाइनल खेल पनि आज मंगलबार नै हुनेछ ।
प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रूपैयाँ नगद पुरस्कारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ८० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगितामा सान्त्वना हुने दुई टिमले ३० हजार रूपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
