Home मुख्य समाचार अनलाईन अपराधको चंगुलमा बालबालिका, अभिभावक बेखबर

अनलाईन अपराधको चंगुलमा बालबालिका, अभिभावक बेखबर

अनलाईन अपराध भनौं या साइबर क्राइम, कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन् । प्रविधिको विकाससँगै अपराधको संसार पनि विकसित भएको छ । कम्प्युटर र इन्टरनेटबाट साइबर अपराध गरिन्छ । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा बैंक खाता आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्‍याउने क्षति लगायत अवैधानिक कार्यलाई पनि साइबर अपराध मानिन्छ ।

यस प्रकृतिको अपराधमा कुनै किसिमको भौगोलिक वा क्षेत्रगत सिमा नरहने हुँदा यसलाई विश्वव्यापी अपराधमा रूपमा समेत लिन सकिन्छ । साइबर अपराध त्यस्तो प्रकृतिको अपराध हो जसले कम्प्युटर वा विद्युतीय उपकरणलाई माध्यम बनाई वा अर्काको कम्प्युटरमा अनधिकृत पहुँच स्थापित गरी आपराधिक मानसिकताबाट अरुलाई दुःख दिने वा हानी नोक्सानी पुर्‍याउने एउटा सामाजिक अपराध हो ।

साइबर अपराधमा बालबालिकाको उपस्थिति :
बालबालिकालाई कानुनीरुपमा समेत संरक्षण गरिएको छ र बालबालिकाले अपराध नगर्ने बरु कानुनी विवादमा पर्ने भन्दै १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई वयस्कलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ भने उनीहरूलाई सजायभन्दा पनि सुधारका लागि पठाइन्छ । तर, पछिल्लो समय अपराधमा बालबालिकाको संलग्नता बढ्दै जानु निकै गम्भीर विषय हो ।

परिवारमा आमाबुबाले मोवाईल चलाउँछन् र यहि देखेर बालबालिका हुर्कन्छन् । खाना खाएन या बालबालिकाले केहि माग गरे भने फकाउन मोबाईल दिएर अभिभावकले नै बालबालिकालाई मोबाईलको लत लगाईदिन्छन् । अझ जन्मने बित्तिकै सामाजिक सञ्जालमा फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा खाता खोलिदिएर भाईरल बन्ने मोह समेत अभिभावकले नै बालबालिकाको मस्तिष्कमा थोपरिदिएका हुन्छन् ।

किशोरावस्थामा प्रवेश गर्दा नगर्र्दै उनिहरु विभिन्न भिडियो हेर्ने, फोटो, भिडियो अपलोड गर्ने, च्याट तथा भिडियो कलमा नयाँ–नयाँ साथीहरुसँग बोल्ने गर्न थालिसकेका हुन्छन् । यस्ता क्रियाकलापले एक त उनीहरुको पढाईमा प्रत्यक्ष असर गरिरहेको हुन्छ, उनिहरु शारीरिक क्रियाकलापहरुबाट आर्फैलाई बञ्चित गराइरहेका हुन्छन् साथै अर्कातर्फ असुरक्षित कुराकानी र सम्पर्कले बालबालिकाहरुमा अनलाईनबाट हुन सक्ने असुरक्षा बढिरहेको हुन्छ । उनिहरु अनलाईनबाट हुन सक्ने खतराका विषयमा जानकार छैनन् । ५ देखि १२ वर्ष उमेर समुहका ४५२ बालबालिकासँग गरिएको एक सर्वेक्षण अनुसार ७५ प्रतिशत बालबालिकाले अनलाइनबाट हुने यौन दुव्र्यवहारबाट सुरक्षित हुने उपायबारे थाहा नभएको पाइएको छ ।

सामाजिक सञ्जालहरु फेसबुक, म्यासेन्जर, टिकटक, युट्युब, भाइबर, ट्विटर, ह्वाट्सएप, ईमो, इन्स्टाग्राम, नेटफ्लिक्स, रेडिटलगायतका सामाजिक सञ्जाल प्रयोग गरी बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक, नैतिक, सामाजिक विकास तथा अवस्थामा असर पर्ने र अनलाइनबाट हुने बाल दुव्र्यवहारका घटना हुने गरेको बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडा बताउँछन् ।

पछिल्लो समय अनलाइनको माध्यमबाट सबैभन्दा बढी यौन दुव्र्यवहार र शोषणमा पर्ने गरेका तथ्यांकले बताउँछ । बालबालिका साइबर अपराधको पीडित मात्र छैनन् उनिहरु यसको पीडक समेत बन्दै गइरहेको र अभिभावक, शिक्षक र सरोकारवाला निकायले बेलैमा ध्यान नदिने हो भने स्थिति भयावह नहोला भन्न सकिन्न । अभिभावक आफैं सचेत छैनन् यता प्रविधिको फड्को सँगै कृत्रिक वौद्धिकता (एआई) को बढ्दो प्रयोगले जोखिमलाई झनै बढावा दिइरहेको छ ।

किशोरावस्थामा हुने आकर्षण र प्रेमलाई सामाजिक सञ्जालमा प्रस्तुत गर्ने होडबाजी, पासवर्डको आदानप्रदान, अन्तरंग फोटो तथा भिडियो साटासाट गर्दा यसले जोखिमता बढाएको छ, फेक आईडिको प्रयोग, अनलाईन बदला, ह्याकिंग, अनलाईन ब्ल्याकमेलिङ, साईबर बुलिङ जस्ता अपराधमा बालबालिकाहरु फस्दै गइरहेका छन् ।

अभिभावकले के गर्ने ?
पहिलो कुरा अभिभावकले आफ्नो मोबाईलको लत कम गर्नु पर्‍यो र अनलाईन अपराधका विषयमा स्वयम् सचेत हुनु पर्‍यो । बालबालिकाले रातको समयमा एकान्तमा लामो समयसम्म मोबाईल चलाउँदै छन् कि निगरानी गर्नु पर्छ । बेलाबेलामा उनिहरुले चलाउने मोबाईल, ल्यापटप आदि चेक गर्ने र उनिहरुलाई प्रहरीले गरेको सोधपुछ जस्तो भन्दा पनि साथी र सहजकर्ता जस्तो बनेर सम्झाउने प्रयास गर्नु पर्छ । मोबाईल चलाउनु या अनलाईनमा बस्नु गलत होइन तर समय व्यवस्थापन, सही प्रयोग, सुरक्षाका उपायहरुबारे निगरानी समेत अभिभावकको आवश्यकता पर्छ । यसका लागि विभिन्न सफ्टवेयरले बालबालिकाको मोबाईलसँग अभिभावकले आफ्नो डिभाईसलाई लिङ्क गराउन सक्छन् ।

साइबर अपराधका सवालमा नीति तथा नैतिकता :
हाम्रा विद्यालयले पनि साइबर सुरक्षाको कुरा खासै सिकाउँदैनन् । तर, अब साइबर सचेतना सिकाइनुपर्छ । बच्चाहरूले स्क्रिन टाइम कति दिने, कसरी साइबर अपराधबाट सुरक्षित रहने, के–के साइबर अपराध हुन् जस्ता आधारभूत कुरा उनीहरू किशोरावस्थामा प्रवेश गरेसँगै विद्यालयले सिकाउनुपर्छ । साइबर अपराधको विषय नेपाल प्रहरीको हो । तर, साइबर सुरक्षाको विषय व्यक्ति आफैँले जाने सुरक्षित समाज बन्छ र अपराध घट्छ । साइबर अपराध गरेमा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम ५ वर्षसम्म जेल तथा २ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । यो त भयो कानुनी कुरा तर साइबर प्रयोगकर्ता बालबालिकाहरुले (सबैले) अनलाईन बस्दा नैतिकतामा ध्यान दिनु जरुरी छ । अनलाईनमा अरुलाई नराम्रो कमेन्ट गर्ने, अरुको फोटो भिडियोको गलत प्रयोग गर्ने, गलत सूचना समाचार अपलोड गर्ने तथा भाईरल गर्ने होडबाजीले समाज नै गलत बाटोमा गइरहेको छ । यस्ता गतिविधि कम गर्न बालबालिकालाई अनलाईन सचेतना गरेर मात्र पुग्दैन स्वयम् अभिभावकले आफैं पहिले मोबाईलको लतबाट बाहिर आई आफ्ना बालबालिकालाई सचेत गर्दै नैतिकताका विषयमा उनिहरुलाई प्रतिवद्ध हुन प्रेरणा दिनु आवश्यक छ ।

Exit mobile version