हेटौँडा : नवसर्जक साहित्य चौतारी नेपाल, लुम्बिनी प्रदेश समितिको आयोजनामा पहिलो मासिक शृङ्खलाअन्तर्गत भर्चुअल रचना वाचन एवम् विमर्श कार्यक्रम सम्पन्न भएको छ । प्रदेश समितिकी अध्यक्ष जोशिका कँडेल ‘निशा’ को सभाध्यक्षता एवम् प्रदेश संरक्षक डा. शालिकराम पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमको विशिष्ट आतिथ्य तथा केन्द्रीय सल्लाहकार डिबी बर्ताैला र केन्द्रीय अध्यक्ष कृतिका लौडारीको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
सचिव कौशल घिमिरेले सहजीकरण गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष गरिमा बस्यालले राखेकी थिइन् । कार्यक्रममा १२ जना स्रष्टाले समसामयिक विषयवस्तुमा आधारित रचना वाचन गरेका थिए । लुम्बिनी प्रदेश समितिले २०७९ वैशाख ८ गते प्रदेश कार्यालय उद्घाटन गर्नुका साथै प्रथम लुम्बिनी प्रदेशस्तरीय बालसाहित्य उत्सव सम्पन्न गरिसकेको छ भने गत माघमा पुनर्गठित कार्यसमितिको भने यो पहिलो कार्यक्रम हो । केन्द्रीय समिति जस्तै प्रदेश समितिको आयोजनामा समेत नवसर्जकहरूका बीच नियमित भेटघाट तथा लेखन/पठन संस्कृति निर्माणमा टेवा पुर्याउने उद्देश्यले मासिक कार्यक्रम राखिएको र यसलाई विविधतासहित आगामी दिनमा समेत निरन्तरता दिइने चौतारीकी लुम्बिनी प्रदेश अध्यक्ष कँडेलले बताइन् ।











