हेटौँडा : अनलाइन माध्यमबाट बालबालिकामाथि हुने यौनजन्य हिंसाका घटनाविरुद्ध सक्षमता अभिवृद्धि गर्ने विषयमा सरोकारवालासँग अन्तरक्रिया भएको छ । सिविन नेपाल मकवानपुरले हेटौँडामा आयोजना गरेको अन्तरक्रियामा सहभागीले बालबालिकाको संरक्षणमा राज्यको जिम्मेवारीपूर्ण भूमिका नभएको बताएका थिए ।
अनलाइन माध्यमबाट बालबालिकामाथि हुने यौनजन्य हिंसाका घटनाविरुद्ध सक्षमता अभिवृद्धिका लागि सरोकारवालाको भूमिका र अनलाइन माध्यमबाट हुन सक्ने जोखिम न्यूनीकरणको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनालले कार्यपत्र प्रस्तुत गनुभएको थियो । बागमती प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपाल, सामाजिक विकास मन्त्रालयकी सचिव विनु बज्राचार्य कुँवरको उपस्थितिमा भएको कार्यक्रममा बालबालिकालाई अनलाइन माध्यमबाट हुन सक्ने यौनजन्य हिंसाका घटना न्यूनीकरण गर्न प्रहरीको विशेष इकाई नै हुनुपर्ने, विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने सहभागीले सुझाव दिएका छन् ।
प्रदेशस्तरीय अन्तरक्रियामा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौँडास्थित मानवअधिकार आयोगको बागमती प्रदेश कार्यालयका अधिकृत पवन भट्टसहित हेटौँडाका १० विद्यालयका सूचना प्रविधि विषयका शिक्षक, हेटौँडासहित बकैया, कैलाश, मकवानपुरगढी र राक्सिराङ गाउँपालिकाको सूचना प्रविधि अधिकृत वा प्रतिनिधिको सहभागिता रहेको थियो । यस्तै अन्तरक्रियामा इन्टरनेट सेवा प्रदायक कम्पनिका प्रतिनिधि, गैससकर्मी, सञ्चारकर्मीको पनि सहभागिता रहेको थियो ।
अन्तरक्रियामा सहभागीले समूहमा छलफल गरेर सुझाव दिएका थिए । बाल संरक्षणका लागि प्रदेश सरकारले संरचना र संयन्त्रको परिकल्पना गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै सहभागीले आलोचना गरेका थिए ।











