हेटौँडा : बागमती प्रदेशका तीन जिल्लामा दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २ जना मृत भेटिएका छन् । चितवन, काभ्रे जिल्लामा दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने धादिङ र काभ्रे जिल्लामा दुई जना मृत भेटिएका छन् ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–१४, नमस्तेचोकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । शनिबार गीतानगरबाट पटिहानीतर्फ जाँदै गरेको बा प्र ०३–००३ प २९७६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई विजुलीको पोलमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक पर्सा जिल्लाको ठोरी गाउँपालिका–१ का ५५ वर्षीय गमबहादुर कुँवर गम्भीर घाइते भएका थिए । काम विशेषले भरतपुर आएका गमबहादुर घर फर्कने क्रममा दुर्घटना भएको हो । गमबहादुरको उपचारको क्रममा शनिबार दिउँसो १ बजेर ४० मिनेटको समयमा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार बिहान ११ बजेर ३० मिनेटको समयमा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–७, संजिवनीचोकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । ११ हजार भोल्टको हाइटेन्सन लाईनमा बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–१२, घारिबथानका २८ वर्षीय उपेस परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
धादिङ जिल्लाको गल्छी गाउँपालिका–१, खोस्रेटारमा त्रिशुली नदि किनारमा ११ वर्षीय जेनी डंगोल मृत भेटिएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो ४ बजेर ४० मिनेटको समयमा डंगोलको शव भेटिएको हो । बैशाख ३० गते मंगलबार त्रिशुली नदिको किनारमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशुली नदिबाट बगाएर बेपत्ता भएकी जेनीको शव खोस्रेटारमा भेटिएको हो ।
यस्तै काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–६, चौकोटमा बन्द अवस्थामा रहेको प्राइम चाउचाउ उद्योग परिसरमा शव बरामद भएको प्रहरीले जानकारी दिएको छ । शनिबार दिउँसो १ बजेको समयमा पुरुष व्यक्ति सडेर गलिसकेको शव भेटिएको प्रहरीले जनाएको छ ।
