Home मुख्य समाचार मकवानपुरमा ३२औँ मदन–आश्रित स्मृति दिवस मनाईयो

मकवानपुरमा ३२औँ मदन–आश्रित स्मृति दिवस मनाईयो

मदन–आश्रितको अर्धकदको शालिकमा माल्र्यापण तथा पुष्पगुच्छा अर्पण गर्दै नेताहरु ।

हेटौँडा : मदन भण्डारी फाउण्डेसन मकवानपुरले शनिबार ३२औं मदन–आश्रित स्मृति दिवस मनाएको छ । एमालेका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा फाउन्डेसनले हेटौँडा–९ स्थित दिव्य बाल उद्यानमा स्मृति तथा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।

फाउन्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागीले बालउद्यान स्थित मदन–आश्रितको शालिकमा माल्यार्पण गर्नुका साथै मदन भण्डारी र जिबराज आश्रितको बारेमा चर्चासमेत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि पौडेलले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) राष्ट्र निर्माणको आधार भएको बताउनुभयो । मदन–आश्रितको विषयमा चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, ‘जबज कुनै साधारण सिद्धान्त होइन, यो राष्ट्र निर्माणको आधार हो ।’ उहाँले जबजलाई व्यवहारमा उतार्न र यसका अनुयायीहरूले आफ्नो जीवनशैलीमा देखिएका गलत प्रवृत्तिहरूको आत्मसमीक्षा गर्दै सुधार गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले मदन–आश्रितको योगदानबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभएको थियो ।

मदन भण्डारी फाउण्डेसन मकवानपुरले तीन दिवसीय कार्यक्रम गरेर ३२औं मदन–आश्रित स्मृति दिवश मनाएको हो । पहिलो दिन जेठ १ गते हेटौंडा–१५, स्थित दिव्यसेवा निकेतन आश्रयस्थलमा खाद्यान्न वितरण, जेठ २ गते “जनताको बुहदलीय जनवादः राष्ट्र निर्माणको आधार” विषयक बहस कार्यक्रम र मुख्य दिन शनिबार स्मृति तथा श्रद्धाञ्जली सभा आयोजना गरेको थिायो । एमाले हेटौंडा–९ का अध्यक्ष एवम् दिव्य बालउद्यानका सदस्य बासु प्याकुरेलले स्वागत गर्नुभएको कार्यक्रममा नेकपा एमालेका नेता केदार न्यौपाने, एकालाल श्रेष्ठ, हिदम लामा, नवीन सिग्देलसहित फाउन्डेसनका सदस्यहरू, टोल विकास संस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी मृत्यु भएको थियो । मदन आश्रितको स्मृतिमा जेठ ३ गते विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने गरिन्छ । यसैबीच मदन–आश्रित स्मृति दिवशमा नेकपा एमाले मकवानपुरले पार्टी कार्यालयमै श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरेको थियो भने, हेटौँडा–११ स्थित सहिद स्मारकमा पनि श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरिएको थियो ।

Exit mobile version