हेटौँडा: आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा बृहत् साहित्यिक तथा साँस्कृतिक कार्यक्रम २०८२ मा कविता प्रतियोगिता हुने भएको छ । शनिबार एक सूचना जारी गर्दै जेठ १७ गते शनिबार आँचलको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको जनाएको छ ।

आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष भावना सापकोटाका अनुसार जुनसुकै विषयमा बढीमा १५० शब्दको मौलिक कविता रचना गरी नेपाली भाषामा टाइप गरी वा हस्तलिखित रूपमा पठाउन सकिनेछ । कविता साहित्यको इमेल ठेगानामा पठाउन सकिने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा ८ कक्षादेखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीले मात्र भाग लिन पाउनेछन् भने एउटा विद्यालयबाट बढीमा दुईजना विद्यार्थी सहभागी हुन पाउने सापकोटाले जानकारी दिनुभयो । कविता कुनै पनि सञ्चार माध्यम वा सामाजिक सञ्जालमा प्रकाशित÷प्रसारित हुन नहुने उहाँको भनाइ छ ।

कविता जेठ १४ गते बुधबार साँझ ५ बजेसम्म पठाउनु पर्नेछ । प्रतियोगिताका लागि उत्कृष्ट १० कविता छनोट गरी जेठ १५ गते बिहीबार सार्वजनिक गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा कवि स्वयम् उपस्थित भई कविता वाचन गर्नुपर्नेछ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ७ हजार, ४ हजार र एक हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।