हेटौँडा : राजेश हमाल अभिनित चलचित्र ‘नरसिंहा अवतार’ को निर्माता र कलाकार टोलीले हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरेर चलचित्रको प्रदर्शनका बारेमा जानकारी गराएका छन् । ८ वर्षपछि राजेश हमालको पुनरागमनलाई आमरुपमा चासोका साथ हेरिरहेका बेला नरसिंहा अवतार निर्माण टोली र कलाकारले हेटौँडामा पत्रकारसँग अन्तरक्रिया समेत गरेका छन् ।
जेठ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्रले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने निर्माता तथा वितरक नरेन्द्र महर्जन बताउनुहुन्छ । राम्रा नेपाली चलचित्रले राम्रो व्यापार गरिरहेको सन्दर्भमा नरसिंहा अवतार पनि दर्शकले रुचाउने र राम्रो व्यापार गर्ने चलचित्रको रुपमा स्थापित हुने निर्माता महर्जनको भनाइ छ । राजेश हमालको पुनरागमन र पुराना चर्चित गीतलाई समावेश गरेर निर्माण गरिएको चलचित्रले दर्शकलाई सन्तुष्टि दिने महर्जनको दावी छ ।
करिब ४ करोड रुपैयाँ लगानी रहेको चलचित्रमा अधिकांश हेटौँडाकै लगानीकर्ता छन् । नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, दीपक शर्मा ढकालसहित हेटौँडाका लगानीकर्ता रहेको चलचित्रको निर्देशन तथा लेखन दिवाकर भट्टराईले गर्नुभएको छ । पत्रकार सम्मेलनमा कलाकार राज कटुवाल र सनिषा भट्टराईको पनि उपस्थिति रहेको थियो । फिल्ममा राजेश हमालसँगै सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।











