हेटौँडा : नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले रासायनिक मलको कारण माटोको उर्वराशक्ति ह्रास हुँदै गएको बताउनुभएको छ । उहाँले रासायनिक मलको विकल्प खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
मकवानपुरको बकैया गाउँपालिका–७ मा हर्दा खहरे बोरिङ सिचाई आयोजनाको उद्घाटन गर्नुहुँदै सहमहामन्त्री डिनाले जल र मलको संयोजन मिलाउन सके कृषि उत्पादनमा उल्लेख्य वृद्धि गर्न सकिने बताउनुभयो । उहाँले जैविक मलको प्रयोग बढाउनुपर्ने गरी सरकारले नीति कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । स्थानीय सरकारले पनि जैविक मलमा अनुदानको व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । आगामी आर्थिक वर्षका लागि संघीय सरकारले जैविक मल प्रोत्साहनका लागि ८ अर्ब रुपैयाँ अनुदान विनियोजन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले नेपालमै रोजगारीको वातावरण बनाउन कृषि क्षेत्रको उत्पादकत्व बढाउनुपर्ने बताउनुभयो । प्रदेशमा रहेका उर्वर जमिनमा मल, जल, बीउ र सिँचाईको उचित प्रवन्ध गरेर यहीँ रोजगारी सिर्जना गर्न सकिने उहाँले बताउनुभयो । तीन तहको सरकारबीच समन्वय गरी विकास निर्माणका कार्यहरु अघि बढाउनु आवश्यक रहेको मन्त्री खड्काको भनाई छ । मन्त्री खड्काले बेतेनीदेखि रक्सिराङसम्मको क्षेत्रमा अझैपनि खानेपानीको चरम अभाव रहेको उल्लेख गर्नुहुँदै निर्वाचित जनप्रतिनिधिहरुले दल भन्दा माथि उठेर जनताका लागि काम गर्नुपर्ने बताउनुभयो । मन्त्री खड्काले अब ग्राउण्ड रिचार्ज प्रणालीको आवश्यकता औँल्याउनुभयो ।
बागमती प्रदेश सरकारको ३६ लाख रुपैयाँ लागतमा हर्दा खहरे बोरिङ सिचाई निर्माण गरिएको हो । १५ बिगाहा क्षेत्रफल जमिनमा सिचाई सुविधा उपलब्ध गराउने गरी सो आयोजना निर्माण गरिएको भूमिगत सिँचाई आयोजना प्रमुख केशव जैसीले बताउनुभयो । १० हर्जपावर क्षमताको पम्पमार्फत ८ लिटर प्रतिसेकेण्ड पानी प्रवाह गर्न सक्ने क्षमता राख्ने उहाँले जानकारी दिनुभयो । बाँझो जमिनमा सिंचाई सुविधा पुगेपछि हर्दा खहरे टोलका किसानहरु हर्षित भएका छन् । आकाशे पानीको भरमा वर्षको एकबाली मात्रै खेती गर्दै आएका किसानहरु वर्षभर खेती गर्न पाउने भएपछि उत्साहित बनेका हुन् ।











