हेटौँडा : सडक डिभिजन कार्यालय हेटौँडाले सडक स्तरोन्नति गर्न लागेका कारण हेटौँडा उपमहानगरको ५ वटा वडाका केही भागमा २ दिन पानी वितरण अवरुद्ध हुने भएको छ । हेटौँडाको १, २, ४, ५ र १० नम्बर वडाका केही भागमा बिहीबार र शुक्रबार पानी वितरण अवरुद्ध हुन लागेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड मकवानपुरका सूचना अधिकारी सञ्जय कुमार न्यौपानेले बताउनुभयो ।
सडक डिभिजन कार्यालयले हेटौँडा–१ नम्बर वडाको तिर्तिरे धारादेखि करिब १०० मिटर उत्तरतर्फ सामरी खोलापट्टी टेवा पर्खाल निर्माण गर्न लागेको उहाँले बताउनुभयो । सडक निमार्णको क्रममा हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको मुख्य खानेपानीको स्रोत सामरी समवेल तथा बुङ्गदल मुहानको पानी वितरणका लागि विछ्याइएको १४ इन्चको करिब १५ मिटर डिआई पाइप क्षतिग्रस्त भएकोले बिहीबार र शुक्रबार दुईदिन पानी वितरण कार्य प्रभावित हुने उहाँले जानकारी दिनुभयो । पाइप मर्मतको भइरहेकोले बिहीबार साँझ र शुक्रबार बिहानसम्म हरिकुञ्ज पानी ट्याङ्कीबाट वितरण हुने क्षेत्रमा पानी वितरण कार्य प्रभावित हुने बताइएको छ ।
