हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाका आधारभूत तथा माध्यामिक तहका आइटि स्रोत शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको छ । शुक्रबारदेखि सञ्चालित तालिम मंगलबार समापन भएको हो ।
गाउँपालिकाको आयोजनामा भएको तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले कैलाश गाउँपालिकाको परिवेश भौगोलिक विकटता रहेको र शिक्षामा क्रमिक सुधार भइरहेको बताउनुभयो । यहाँका नागरिकमा चेतनाको कमी रहेको उल्लेख गर्नुहुँदै सोही अनुरुप शिक्षकले चेतना फैलाउँदै शिक्षामा सुधार ल्याउनुपर्ने उहाँले बताउनुभयो । समाजमा परिवर्तन ल्याउने शिक्षा नै भएकोले त्यसतर्फ ध्यान दिन अध्यक्ष मुक्तानले शिक्षकसँग आग्रह गर्नुभयो ।
आइटिका साधनहरुको दुरुपयोग नहोस् भनी सतर्कता अपनाउनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष मुक्तानले निमावि र मावि तहमा कम्प्युटर विषय रहेकोले प्रविधिको भरपुर प्रयोग गर्न र नजानेको खण्डमा तालिम लिन आग्रह गर्नुभयो । विद्यालयमा आइटिका साधनहरु नपुगे गाउँपालिकाले आवश्यक समन्वय गर्ने अध्यक्ष मुक्तानले बताउनुभयो । विद्यालय र स्वास्थ्य संस्थामा कम्प्युटर र इन्टरनेट जडान गर्ने चाहना हुँदाहुँदै पनि विकटताले गर्दा सम्भावना कम रहेको अध्यक्ष मुक्तानको भनाइ छ । हावाहुरीको मौसमले विद्युत प्रवाहमा समस्या भइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष भूवनसिं घलानले गाउँपालिकाले शिक्षा क्षेत्रमा लगानी गर्दै आइरहेको बताउनुभयो । शिक्षामा कैलाश गाउँपालिका पछि परिरहेको उल्लेख गर्नुहुँदै वडाध्यक्ष घलानले शिक्षकहरु पनि आफ्नो क्षमता अभिवृद्धि गर्दै शिक्षामा परिवर्तन गर्नु जरुरी रहेको बताउनुभयो । तालिममा ४३ विद्यालयका प्रधानाध्यापक, स्रोत शिक्षक वा आइटि फोकल शिक्षकहरुको सहभागिता रहेको थियो । तालिमलाई होमबहादुर नेपाली र विवशजंग थापाले सहजीकरण गर्नुभएको थियो भने विद्यालयको प्रशासनिक कार्यबारे गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख समीर जोशीले सहजीकरण गर्नुभएको थियो ।
कालिका माध्यामिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्य तथा वडा नम्बर ९ का वडाध्यक्ष भूवन सिं घलानको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, प्राविधिक सहायक दिपेन्द्र अधिकारी, विद्यालय स्रोत शिक्षक ध्रुवराज विष्टको आतिथ्य रहेको थियो । कार्यक्रममा जीवनज्योति प्राविका प्रअ सीता मगर र भवानी माविका प्रअ बालचन्द्र मल्लले तालिममा सिकेका सीप, अनुभव, गुनासाका साथै आगामी दिनमा हुनुपर्ने सुधारका विषयमा आफ्नो भनाई राख्नुभएको थियो ।











