हेटौँडा : परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (महासचिव पास्टर गिम जु छल) ले बुधबार हेटौँडा मुख्य बजार क्षेत्रमा सरसफाइ गरेको छ । बुधबार वातावरण दिवसको सन्दर्भमा स्वच्छ समाज निर्माण तथा वातावरणीय सचेतना जागरण अभियान अन्तर्गत हेटौँडा बजारको ३ किलोमिटर क्षेत्र भित्र सरसफाइ कार्य सम्पन्न गरेको हो ।
स्वयंसेवकहरूले करिब ३ टिपर विभिन्न प्लास्टिकजन्य फोहोरहरू सङ्कलन गरेका थिए । हेटौँडा उपमहानगरपालिकाबाट पनि फोहोर सङ्कलन गर्न स्वयंसेवकहरूलाई प्रोत्साहन दिएका थिए । कार्यक्रममा उपस्थित हेटौँडाका उपप्रमुख राजेश बानियाँले विश्व वातावरण सरसफाई अभियान हेटौँडा क्षेत्रमा गरेको भन्दै परमेश्वरको मण्डलीलाई आभार व्यक्त गर्नुभयो । साथै कार्यक्रममा शैक्षिक, सामाजिक, प्रशासनिक, राजनीतिक, सूचना तथा सञ्चार लगायत विभिन्न क्षेत्रमा कार्यरत करीब ४०० जना स्वयंसेवकहरूको सहभागिता रहेको थियो ।
परमेश्वरको मण्डलीका सन्तहरूले विश्वभरि अनवरत रूपमा वातावरण सरसफाई गर्दै आएका बताइएको छ । नेपालमा हेटौँडा, काठमाडौँ, ललितपुर, भक्तपुर जस्ता विभिन्न क्षेत्रका सहर, पार्क र सडकमा निरन्तर सरसफाइ गरिएको छ । रक्त अभाव भएर जीवन जोखिममा परेकारूलाई पनि सहयोग गर्दै आएको छ । संस्थाले नर्सिङ होम र वृद्धाश्रम जस्ता सामाजिक कल्याण संस्थाहरूको भ्रमण गरेर आवश्यक सामग्री अनुदान गर्ने, सरसफाइमा सघाउने स्वयम्सेवक, भूकम्पले क्षतिग्रस्त क्षेत्रमा मर्मतसम्भार सहयोग जस्ता विभिन्न गतिविधिमार्फत मण्डलीले स्थानीय समुदायको हेरचाह गर्दैआएको छ ।
