अभिभावकको लागतमा तयार पारिएको ‘बुक कर्नर’ ।

हेटौँडा : पठन संस्कृतिको विकासका लागि हेटौँडा–१८, खड्कुलेस्थित मकवानपुर बालविद्या सदनमा अभिभावकको लागतमा विद्यार्थीको कक्षाकोठामा ‘बुक कर्नर’ निर्माण गरिएको छ । कक्षा–८ का २० जना विद्यार्थीका अभिभावकले जनही एक थानका दरले २० थान पुस्तक खरिद गरी ‘बुक कर्नर’ बनाइएको हो । मंगलबारबाट ८ कक्षाका विद्यार्थीका लागि ‘बुक कर्नर’ को सुरुवात गरिएको हो ।

एकजना अभिभावकले एउटा पुस्तक खरिद गरिदिँदा २० जना विद्यार्थीले २० थान पुस्तक अध्ययनको अवसर प्राप्त गर्ने भएका छन् । शैक्षिक सत्र २०८१ मा पुस्तकालयबाट पुस्तक लिएर हरेक दिन प्रार्थनापछि नियमित पठनपाठन सुरु हुनुअघि करिब २५ मिनेट हरेक विद्यार्थीले पुस्तक अध्ययन गर्नुपर्ने व्यवस्था गरेको मकवानपुर बालविद्या सदनले चालु शैक्षिक सत्रको सुरुवातमा परीक्षणको रुपमा एउटा कक्षामा अभिभावकको लागत सहभागितामा बुक कर्नर तयार पारिएको प्रिन्सीपल सुदीपराज गिरीले जानकारी दिनुभयो । उहाँले यसको प्रभावकारिता हेरेर आगामी दिनमा अन्य कक्षामा पनि विस्तार गरिने बताउनुभयो ।

यस वर्षदेखि विद्यार्थीले पढेका पुस्तकको समीक्षा पनि गर्नुपर्ने व्यवस्था गर्न लागिएको प्रिन्सीपल गिरीको भनाइ छ । ८ कक्षाका विद्यार्थीका लागि उपयोगी विभिन्न शीर्षकका २० थान किताब खरिद गर्दा अभिभावकले जनही ४ सय ३५ रुपैयाँ योगदान गर्नुभएको छ । सुरुवाती चरण भएकोले विद्यालयले नै कक्षा–८ का लागि बुक कर्नर बनाएर अभिभावकलाई पुस्तकको रकम व्यहोर्न भनिएको र अभिभावकले सहजै विद्यालयको प्रस्ताव स्वीकार गरेको उल्लेख गर्नुहुँदै प्रिन्सीपल गिरीले भन्नुभयो, ‘हामी आगामी दिनमा सबै कक्षाका अभिभावकसँग परामर्श, सल्लाह गरेर बुक कर्नर निर्माण गर्नेछौं ।’
अभिभावकले एउटा पुस्तकका लागि योगदान गर्दा आफ्ना बालबालिकालाई २० वटा फरक फरक शीर्षकका पुस्तक अध्ययन गर्ने अवसर पाउने विद्यालयको अपेक्षा छ । मकवानपुर बालविद्या सदनमा ७ सय विद्यार्थी अध्ययनरत छन् ।

‘बुक कर्नर’ मा भएको पुस्तक अध्ययन गर्दै विद्यार्थी ।