Home मुख्य समाचार छुट्टाछुट्टै घटनामा ४ जिल्लामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा ४ जिल्लामा ४ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको ४ जिल्लामा विभिन्न घटनामा ४ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुली, चितवन, धादिङ र काभ्रेपलाञ्चोक जिल्लामा ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सिन्धुली जिल्लाको दुधौली नगरपालिका–८, खोरभन्ज्याङमा कारले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मंगलबार बिहान ११ बजेर १५ मिनेटको समयमा मदन भण्डारी राजमार्गमा कटारीबाट डकाहातर्फ जाँदै गरेकोे बिएबी ०१८८ नम्बरको ल्याण्ड क्रुजर कारले बाटो छेउमा हिँडिरहेको बालकलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । कारको ठक्करबाट नगरपालिका–७, चिहानडाँडा बस्ने १० वर्षीय मन्देश सदा गम्भीर घाइते भएका थिए । घाइते मन्देशलाई उपचारका लागि दुधौली नगर अस्पताल सिर्थौली लगिएको थियो । उपचारको क्रममा मन्देशको दिउँसो १२ बजेर ५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कार चालक संखुवासभा जिल्लाको चैनपुर नगरपालिका–१० का ३४ वर्षीय रामकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–८, कोशीपारिमा एक जना पुरुष मृत फेला परेका छन् । मंगलबार दिउँसो ४ बजेको समयमा प्रतिक्षालयमा मागी खाई हिँड्ने अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका–६, कत्लेडाडाँमा रुखबाट लडेर एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय दलबहादुर मगर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा मगर सालको रुखमा चढेर घाँस काट्ने क्रममा रुखबाट लडेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–१८, पवित्रचोकमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । सोमबार बिहान ८ बजेर ४० मिनेटको समयमा टाउन बजारबाट गुन्जनगरतर्फ जाँदै गरेको ना १५ प २७५१ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा ठक्कर दिँदा पैदलयात्री घाइते भएको प्रहरील जानकारी दिएको छ । मोटरसाइकलको ठक्करबाट ७५ वर्षीय कोमल बगाले गम्भीर घाइते भएका थिए । घाइते कोमललाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मंगलबार राती ८ बजेर २० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Exit mobile version