लागूऔषधको समस्या विश्वभर व्याप्त छ । अधिकांश देशका लागि लागूऔषध दुव्र्यसनको समस्या टाउको दुखाई बनिरहेको छ । लागूऔषधको उत्पादन, बेचविखन, ओसारप्रसार, सेवन नियन्त्रण गर्न नसकेका देशहरु विश्वभर बदनाम बन्नु परिरहेको छ । लागूऔषध दुव्र्यसन र यसको असरले समाजमा विभिन्न विकृति देखा परिरहेको छ । अधिकांश लागूऔषध दुव्र्यसनी तथा कारोबारीमा देखिने आपराधिक मानसिकताले मानिसलाई संवेदनाहीन बनाइरहेको छ । लागूऔषध दुव्र्यसन र कारोबारमा अधिकांश किशोरावस्था र युवावस्थाका मानिसहरु संलग्न हुनु चिन्ताजनक हो । लागूऔषधको कुलत र कारोबारमा फस्दै गएपछि जोसुकैको भविष्य अन्धकार बन्दछ । यसले व्यक्ति, परिवार, समुदाय, समाज, देश र विश्वकै आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, नैतिक, संवेगात्मक सबै प्रकारका विकासमा नकारात्मक असर गर्दछ ।
सार्वजनिक विदाको भोलिपल्ट जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध दुव्र्यसन तथा कारोबारी पक्राउसम्बन्धी सूचना सञ्चारकर्मीलाई प्रदान गरिरहेको हुन्छ । मकवानपुर प्रहरीले शनिबार लागूऔषधसहित ६ जनालाई पक्राउ गर्याे प्रहरीले पक्राउ गरेका ६ जनामध्ये एकजना लागूऔषध कारोबारी समेत भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले २ जनालाई लागूऔषधसहित पक्राउ गरेपछि सोधपुछको क्रममा कारोबारी पनि पहिचान भएर पक्राउ परेका छन् । पछिल्लो समय लागूऔषधको कारोबार र दुव्र्यसनी बढ्दै गएको छ । प्रहरीले दिनहुँ लागूऔषध ओसारपसार तथा दुव्र्यसनमा संलग्नहरुलाई पक्राउ गर्नुले लागूऔषध समस्या बढ्दै गएको पुष्टि गर्दछ । शनिबारमात्रै प्रहरीले एम्बुलेन्सबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । नेपालमै उत्पादन हुने र बाहिरी देशबाट भित्रने दुबै प्रकारका लागूऔषधको कारोबार नेपालमा फस्टाउँदै गएको छ । लागूऔषधका विभिन्न समस्या बढ्दै जानुको कारण, यसको चौतर्फी असर र रोकथामका उपायबारे सरकार र अन्य सरोकार निकायको ध्यान पुग्नु आवश्यक छ ।
लागूऔषध नियन्त्रण प्रभावकारी हुन नसक्दा यो समस्या चुनौतीपूर्ण देखिएको छ । विशेष सूचनाको आधारमा वा आकस्मिक चेकजाँचको क्रममा प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने र लागूऔषध बरामद गर्दै आएको छ । पक्राउ परेका व्यक्तिलाई अदालतमा मुद्दा दायर गरेर कानुनी कारबाही गर्ने र बरामद लागूऔषध नष्ट गर्ने गरिएको छ । लागूऔषधको समस्या समाधानमा अहिले भइरहेका प्रयत्नमात्र पर्याप्त छैन । प्रहरीले चलाउँदै आएको सचेतना र कारबाहीले मात्र लागूऔषध नियन्त्रणमा पूर्ण प्रभावकारी हुन सकिरहेको छैन । लागूऔषध उत्पादन, आयात, कारोबार र सेवनजस्ता सबै प्रकारका गैरकानुनी कार्य अन्त्य हुनुपर्छ । यसका लागि पर्याप्त सचेतनासहित थप रणनीति र कार्यक्रम कार्यान्वयन गर्नु उपयुक्त हुनेछ ।











