हेटौँडा : बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले व्यवसायीको हितमा सरकार सदैव प्रतिवद्ध रहेको बताउनुभयो । नेपाल मोबाइल व्यवसायी महासंघको चौथो साधारणसभालाई हेटौँडामा सम्बोधन गर्नुहुँदै मन्त्री काफ्लेले मोबाइल व्यवसायीहरुका समस्या बुझ्ने र समाधानका लागि आवश्यक पहल गर्ने काम भइरहेको बताउनुभयो ।
प्रदेश सरकार व्यवसायीहरुको कानुनी तथा नीतिगत असहजतामा सहजीकरण गर्न प्रतिबद्ध रहेको उहाँको भनाई छ । उहाँले भन्सार छली गरेर नेपाल आएका पुराना मोबाइललाई कानुनी दायरामा ल्याउने र मर्मत गरी पुनः प्रयोगमा ल्याउने महासंघको पहललाई राष्ट्रकै एजेन्डाका रुपमा अघि बढाउने बताउनुभयो । ‘व्यवसायीहरु अहिले दुई ढुंगाबीचको पिपल जस्तै बन्नु भएको छ । उम्रन गाह्रो छ, तर एक पटक उम्रिसकेपछि चट्टान फुटाएर पनि अगाडि बढ्न सक्नुहुन्छ । तपाईहरुका समस्या हल गर्न आवश्यक कानुनी प्रतिवद्धता गर्न प्रदेश सरकार तयार छ ।
केही भन्सारका विषयहरु रहेका छन् । त्यसको सहजीकरणमा संघीय सरकारसँग समन्वय गर्न प्रदेश सरकार सदैव तत्पर रहेको छ’, मन्त्री काफ्लेले भन्नुभयो । करिब एक हजार व्यवसायी सहभागी रहेको सो कार्यक्रममा मोबाइल व्यवसाय क्षेत्रका वर्तमान अवस्था, समस्याहरु तथा सम्भावनाका विषयमा विस्तृत छलफल गरिएको थियो । सभाबाट मोबाइल व्यवसायको सुधार, नीतिगत सहजीकरण र व्यवसायीको सशक्तिकरणतर्फ महत्वपूर्ण मार्गचित्र तय हुने विश्वास महासंघले लिएको छ ।
महासंघका अध्यक्ष भरत भट्टराईको सभाध्यक्षता तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, नेपाल मोबाइल वितरक संघका केन्द्रीय अध्यक्ष रघु त्रिपाठी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । साधारणसभाअघि व्यवसायीहरुले शनिबार प्रभातफेरीको आयोजना गरेको थियो । हेटौँडा बजार क्षेत्रको परिक्रमापछि सभाको आयोजना गरिएको थियो ।
