हेटौँडा : हेटौँडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएपछि हेटौँडा–७ स्थित किरण स्मृति बाल समूह नयाँ दृष्टिकोण र कार्ययोजनासहित पुनर्गठन गरिएको छ । समूहका पूर्वअध्यक्ष प्राञ्जल ढुंगानाको अध्यक्षता तथा वडा सदस्य श्यामसुन्दर परियारको प्रमुख आतिथ्यमा शनिबार कार्यक्रम भएको हो ।
भेलाबाट बाल समूहको अध्यक्षमा ऋतिका अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । समूहको सचिवमा स्मिता पहाडी चयन हुनुभएको छ । समूहको नयाँ समितिले बालबालिकाको समग्र विकासमा केन्द्रित भई नविनतम कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको जनाएको छ । बाल भेलालाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि श्यामसुन्दर परियारले बालमैत्री अवधारणाको सुरुवात बालश्रम अन्त्यका लागि गरिएको भए तापनि अब बाल समूहले बालबालिकाको क्षमता अभिवृद्धि, सशक्तीकरण र सामाजिक परिवर्तनमा योगदान पु¥याउने कार्यहरूमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले किरण स्मृति बाल समूहले आगामी दिनमा बालबालिकाको हक अधिकार, सिर्जनात्मकता तथा नेतृत्व विकासमा सहयोग पुग्ने कार्यक्रमहरू सञ्चालन गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
