प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुन सफल खेलाडीलाई पुरस्कृत गरेपछि खिचिएको तस्वीर ।

हेटौँडा : संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) हेटौँडाको आयोजना तथा मकवानपुर जिल्ला चेस संघ र हेटौँडा चेस क्लबको समन्वयमा जिल्लास्तरीय शिक्षक कर्मचारी खुल्ला चेस प्रतियोगिता सम्पन्न भएको छ ।

हेटौँडा–५ स्थित जीएस निकेतनमा शनिबार भएको प्रतियोगितामा जीएस निकेतनका बुद्धप्रसाद सापकोटा प्रथम, प्रगति माविका आशिष पाठक द्वितीय र शंकर ज्योति माविका कुन्दन दीक्षित राई तृतीय हुनुभएको छ । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । इस्टु हेटौँडाका अध्यक्ष नविन मिश्रको अध्यक्षता तथा नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाको प्रमुख आतिथ्यमा उद्घाटन समारोह भएको हो ।

प्रतियोगितामा मकवानपुर जिल्लाका विभिन्न विद्यालयबाट २१ जना शिक्षक, कर्मचारीको सहभागिता रहेको थियो । स्विस लिग मोडलमा सञ्चालन भएको प्रतियोगितामा सहभागीले ५ चरणको खेल खेलेका थिए । राष्ट्रिय आर्बिटर सुशीला गुरुङ निर्णायक रहनुभएको थियो ।