बागमती प्रदेश सरकारले कामकाजी भाषाको रुपमा नेपाल भाषा र तामाङ भाषालाई प्रचलनमा ल्याएको छ । बहुसंख्यक नेपाल भाषा र तामाङ भाषाभाषीको बसोबास भएकै कारण प्रदेश सरकारले कामकाजी भाषाको रुपमा नेपाल भाषा र तामाङ भाषालाई प्रयोगमा ल्याउने निर्णय गरेको हो । २०८१ बैशाख २४ गते प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा प्रचलनमा ल्याउने निर्णय गरेको दिनलाई सम्झेर बुधबार प्रथम वार्षिकोत्वसको अवसर पारेर प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौंमा एकसाथत भाषा दिवस मनाइयो । बागमती प्रदेशको राजधानी हेटौँडामा संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा भाषा दिवस मनाइएको हो ।
प्रदेश भाषा दिवसको अवसरमा नेपाल भाषा र तामाङ भाषा बोल्ने मात्रै नभएर गुरुङ, मगर भाषाभाषी पनि आआफ्नो जातीय पोशाकमा सहभागी भएका थिए । प्रभातफेरी र सभाको आयोजना गरेर बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले भाषा दिवस मनाएको हो । भाषा दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदाको निर्णय समेत गरेको छ । कामकाजी भाषाको रुपमा घोषणा गरिनु, घोषणा गरिएकै आधारमा सार्वजनिक बिदा दिइएको विषयमा आलोचना पनि भइरहेको छ । कुनै पनि कामको प्रशंसा र आलोचना स्वभाविक हो । तर, भाषाको सम्बन्धमा आलोचना भन्दा संरक्षण र सम्वद्र्धन जरुरी छ ।
नेपाल भाषा र तामाङ भाषालाई कामकाजी भाषाको रुपमा मनाउने निर्णय र सोही सन्दर्भमा मनाइएको प्रदेश भाषा दिवसको अवसरमा तामाङ र नेपाल भाषाभाषीबाहेक फरक भाषाभाषीको सहभागिता प्रशंसनीय समेत छ । भाषा दिवसको अवसरमा आयोजित कार्यक्रममा जातीय पोशाक र संस्कृति झल्कने प्रस्तुती र भाषा संरक्षणमा सहयोगी अभियन्तालाई सम्मान समेत गरिएको छ । झट्ट हेर्दा, बुझ्दा कामकाजी भाषासम्बन्धी अभ्यास कुनै तर्कपूर्ण देखिन्न । तर, बहुसंख्यक समुदायको सम्मान हुनु, भाषा संरक्षण र प्रयोगमा प्रेरणा अभिवृद्धि हुनु सामान्य विषय होइन । भाषा, संस्कृति नै मानिसको पहिचान हो, जाति, समुदाय र मुलुककको पहिचान हो । आज संसारभर व्यक्तिको पहिरन, बोली, प्रचलनबाट नै निश्चित व्यक्ति र समूहको पहिचान हुन सक्छ ।
भाषा, संस्कृति कुनै एक जातीय समूह वा वर्गको मात्रै नभई सिंगो समाज र मुलुकको भएकोले भाषा, सस्कृतिको संरक्षणमा प्रदेश सरकारले देखाएको अग्रसरतालाई सम्मान गर्दै आगामी दिनमा यसको उचित र व्यवस्थित संरक्षण, सम्बर्धनमा सरोकारवालाले साथ र सहयोग प्रदान गर्नुपर्छ । भाषा दिवसले भाषाको महत्वको विषयमा सरोकारवालाई अझ प्रष्ट पार्दै जाने अपेक्षा गर्न सकिन्छ । भाषा, संस्कृतिको संरक्षण, उचित अभ्यास, विकास र विस्तारमा सरकारको अग्रसरता आगामी दिनमा कायमै रहोस् ।











