Home मुख्य समाचार नयाँ शैक्षिकसत्र सुरु, कसरी पढ्ने ?

नयाँ शैक्षिकसत्र सुरु, कसरी पढ्ने ?

नयाँ शैक्षिक सत्र २०८२ सुरु भइसकेको छ । यो समय विद्यार्थीहरूका लागि उत्साह र जिम्मेवारी दुवै बोकेको समय हो । नयाँ कक्षामा नयाँ विषय, नयाँ शिक्षक र नयाँ अपेक्षाहरूको सामना गर्नु पर्छ । यस्तो अवस्थामा विद्यालयको समयमा अध्ययन गर्नु मात्रै पर्याप्त हुँदैन । घरमा नियमित र योजनाबद्ध अध्ययन नगरेमा विद्यालयमा सिकेका कुरा बिर्सिन सक्छन् । गृहकार्य समयमा सकिँदैन र परीक्षा तयारी कमजोर हुन्छ । त्यसैले घरमा तालिका बनाएर अध्ययन गर्नु सबै विद्यार्थीका लागि अत्यन्त आवश्यक देखिन्छ ।

घरमा तालिका बनाएर अध्ययन गर्नुको मुख्य फाइदा के हो भने यसले समय व्यवस्थापन सिकाउँछ । समय भनेको सबैभन्दा महत्वपूर्ण स्रोत हो, जसलाई एकपटक गुमाएपछि फर्काउन सकिँदैन । अध्ययन तालिकाले विद्यार्थीलाई प्रत्येक दिनको निश्चित समयमा कुन विषय पढ्ने, कहिले गृहकार्य गर्ने, कहिले दोहो¥याउने, कहिले विश्राम लिने भन्ने कुरामा स्पष्टता दिन्छ । यसले विद्यार्थीको अनुशासन पनि विकास गर्छ । जब दैनिक तालिकाअनुसार काम गर्न थालिन्छ तब पढाइमा निरन्तरता आउँछ र आत्मविश्वास पनि बढ्छ ।
यसरी घरमा तालिका बनाएर काम गर्दा फाइदाजनक नै हुन्छ :

१. व्यक्तिगत आवश्यकता अनुसार तालिका बनाउने :
सबै विद्यार्थीको क्षमता, रुचि र कमजोरी फरक हुन्छ । कसैलाई गणित मनपर्छ भने कसैलाई भाषा । कसैलाई बिहान पढ्न सजिलो लाग्छ भने कसैलाई बेलुका । त्यसैले, अध्ययन तालिका बनाउँदा आफूले कुन समयमा बढी ध्यान केन्द्रित गर्न सकिन्छ भन्ने कुरा विचार गर्नुपर्छ । उदाहरणका लागि, बिहान ५ देखि ६ः३० बजेसम्म दिमाग ताजा हुने हुँदा गणित वा विज्ञानजस्ता कठिन विषयहरू पढ्न सकिन्छ । साँझको समयमा भाषा, सामाजिक वा अभ्यास कार्य गर्न उपयुक्त हुन्छ ।

२. तालिकामा सन्तुलन राख्ने :
पढाइको तालिका बनाउँदा सबै विषयलाई समय दिनुपर्छ । एकै विषयलाई धेरै समय दिँदा अरु विषयमा कमजोरी आउन सक्छ । हरेक दिन कम्तीमा दुई फरक विषय पढ्ने व्यवस्था गर्नुपर्छ, जस्तै बिहान अङ्ग्रेजी पढेपछि दिउँसो गणित । तालिकामा गृहकार्य, दोहोर्‍याइ, परीक्षण तयारी र परियोजना कार्यहरू पनि समावेश गर्नुपर्छ । साथै विश्राम, मनोरञ्जन, खेलकुद, पारिवारिक समय र खानपानको समयलाई पनि तालिकामा राख्नु जरुरी छ । अत्यधिक पढाइले मानसिक थकान दिन्छ, जसले पढाइप्रति वितृष्णा उत्पन्न गर्न सक्छ ।

३. लक्ष्य निर्धारण :
हरेक हप्ता वा महिनाको सुरुवातमा सानो लक्ष्य निर्धारण गर्नुपर्छ, जस्तै : यो हप्ता तीनवटा कविता कण्ठ पार्ने, दुईवटा गणितका अभ्यास पूरा गर्ने वा इतिहासको पहिलो अध्याय दोहोर्‍याउने । यसले विद्यार्थीलाई तालिका बनाएर पढ्न प्रेरणा दिन्छ । लक्ष्य पूरा भएपछि आफूलाई सानो पुरस्कार दिन सकिन्छ, जस्तै मनपर्ने पुस्तक पढ्ने, खेल हेर्ने वा साथीहरूसँग समय बिताउने । यसले मनोबल बढाउँछ ।

४. पढ्ने वातावरण सुनिश्चित :
तालिकाअनुसार पढ्न सकियोस् भन्ने वातावरण पनि घरमा आवश्यक हुन्छ । पढ्ने कोठा सफा, शान्त, उज्यालो र हावायुक्त हुनुपर्छ । पढ्ने टेबलमा अनावश्यक सामग्री नराख्ने, मोबाइल, टेलिभिजनजस्ता ध्यान भङ्ग गर्ने कुराबाट टाढा रहने अभ्यास गर्नुपर्छ । यदि सम्भव भएमा विशेष स्टडी कर्नर बनाउन सकिन्छ, जसमा पाठ्यपुस्तक, नोटबुक, स्टेशनरीहरू व्यवस्थितरूपमा राखिएको होस् ।

५. अभिभावकको भूमिका :
बालबालिकाले घरमा तालिका अनुसार पढ्न सकून् भन्नका लागि अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । साना बालबालिकालाई तालिका बनाउन सहयोग गर्नु, समयअनुसार पढ्न सम्झाउनु, पढाइको अवस्था बुझ्नु, प्रोत्साहन दिनु र समयमै आराम गराउनुपर्छ । बालबालिकाले जब अभिभावकको साथ, समझदारी र रुचि देख्छन् तब उनीहरू पढाइमा अझ लगनशील हुन्छन् । जबरजस्ती होइन, संवाद र प्रोत्साहनको माध्यमबाट तालिकाको पालना गराउनु अझ प्रभावकारी हुन्छ ।

६. डिजिटल सामग्रीहरूको उपयोग :
आजभोलि धेरै विद्यार्थीहरूसँग स्मार्टफोन वा ट्याब्लेट जस्ता उपकरणहरू हुन्छन् । यिनलाई पनि पढाइका लागि सकारात्मक ढङ्गले प्रयोग गर्न सकिन्छ । अध्ययन तालिका वा अन्य एप्लिकेशनहरूमा राख्न सकिन्छ । यसले रिमाइन्डर दिने, प्रगति ट्रयाक गर्ने र लक्ष्य पूरा भएको देखाउने सुविधा दिन्छ । तर यी उपकरणको प्रयोग अध्ययनका सीमित उद्देश्यका लागि मात्र गर्ने भन्ने चेतना पनि आवश्यक छ ।

७. अध्ययन तालिका लचिलो :
एकदमै कडाइका साथ बनाइएको तालिका दीर्घकालमा टिक्दैन । कहिलेकाहीँ पाहुना आउन सक्छन्, बिरामी हुन सकिन्छ वा विद्यालयका अतिरिक्त क्रियाकलापहरूमा भाग लिनु पर्छ । यस्तो बेला तालिकामा अलिकति लचकता राख्नुपर्छ । यदि कुनै दिनको पढाइ छुट्यो भने अर्को दिन थोरै समय बढाएर पूर्ति गर्न सकिन्छ । पढाइमा निरन्तरता महत्वपूर्ण हो तर लचकता पनि आवश्यक छ ।

८. आत्म मूल्याङ्कन :
प्रत्येक हप्ता वा महिनाको अन्त्यमा आफूले बनाएको तालिकाको समीक्षा गर्नु जरुरी हुन्छ । सोच्नुपर्छ ‘मैले सबै विषयमा समान ध्यान दिएँ कि दिइनँ ?’, ‘कुन विषयमा समय कम पर्‍यो ?’, ‘तालिका अनुकूल काम गर्न सकेँ कि ?’ ‘अध्ययन गर्दा अल्झिएको कारण के थियो ?’ यस्ता प्रश्नहरूले पढाइलाई अझ सुधार गर्न मद्दत गर्छ ।

९. सहपाठी वा दाजुभाइ–दिदीबहिनीसँग तालिका साझा :
यदि कुनै विद्यार्थीले तालिका अनुसार पढ्न कठिनाइ महसुस गर्छ भने, उसले साथी वा दाजुभाइ–दिदीबहिनीसँग मिलेर पढ्न सक्छ । पढ्ने समय मिलाएर समूहमा पढ्दा तालिकाको पालना सजिलो हुन्छ । कसैले सम्झाइदिन्छ, कसैले अभ्यास गराउँछ, कसैले हौसला दिन्छ । यसले एक–अर्कासँग सहयोग गर्ने संस्कृति पनि विकास गर्छ ।

घरमा तालिका बनाएर अध्ययन गर्नु केवल पढ्ने कुरामात्र होइन, यो जीवनशैली बनाउने अभ्यास हो । समयको सम्मान, अनुशासनको विकास, लक्ष्यप्रति दृढता र आत्मविकासका लागि तालिकाबद्ध अध्ययन अत्यन्त प्रभावकारी हुन्छ । नयाँ शैक्षिक सत्रको सुरुवातमै यदि यस्तो अभ्यास गरियो भने वर्षभरि पढाइमा सफलता पाउन सजिलो हुन्छ । हरेक विद्यार्थीले आफ्नो क्षमता र आवश्यकता अनुसार तालिका बनाउनु, निरन्तर प्रयास गर्नु र समय-समयमा समीक्षा गर्नु आवश्यक छ । यसरी अध्ययन गर्दा केवल अङ्क मात्र होइन, ज्ञान, सीप र व्यवहारिक बानीहरू पनि विकास हुन्छन्, जसले भविष्यको सफलताको बाटो खुल्छ ।

Exit mobile version