वाइसीएलको जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै पुन ।

हेटौँडा : पूर्व उपराष्ट्रपति एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’ ले देशको राजनीतिक अवस्था नाजुक बन्दै गएको टिप्पणी गर्नुभएको छ । दलहरु स्वार्थ केन्द्रित हुँदा देशको राजनीतिक अवस्था डामाडोल बनेको उहाँले बताउनुभयो ।

योङ कम्युनिष्ट लिग (वाईसिएल) मकवानपुरको जिल्ला सम्मेलनलाई सोमबार हेटौंडामा सम्बोधन गर्नुहुँदै उपाध्यक्ष पुनले सरकारको गतिविधिका कारण दलाल पुँजीपतिहरुको मनोबल उच्च भएको बताउनुभयो । उहाँले वर्तमान सरकार संख्याको हिसाबले दुई तिहाई भएपनि देशमा सुशासन कायम हुन नसकेको बताउनुभयो । सरकार भ्रष्टाचारीहरुलाई संरक्षणमा अग्रसर भएको उहाँले आरोप लगाउनुभयो । विचौलियाहरुको संरक्षणका लागि नै कांग्रेस र एमालेको सरकार बनेको उहाँले बताउनुभयो । उपाध्यक्ष पुनले देशको अर्थतन्त्र नाजुक अवस्थामा रहेको बताउनुभयो ।

‘केही अदृश्य शक्तिहरुले राज्य संयन्त्रहरुलाई घेराबन्दी गरेर अर्थतन्त्रलाई ध्वस्त बनाएको छ । ति शक्तिहरुको सञ्जाल संविधान, सरकार, न्यायपालिका सबैतिर व्याप्त रुपमा फैलिएको छ,’ पुनले भन्नुभयो, ‘देशको राष्ट्रियता माथि नै हस्तक्षेप गर्ने हस्तक्षेतकारीहरुसँग ति शक्तिहरुको साँठगाँठ रहेका छन् । देश बचाउन त्यस्ता अदृश्य शक्तिको सञ्जाललाई तोड्नुपर्नेछ ।’ उपाध्यक्ष पुनले गणतन्त्र जोगाउने प्रमुख जिम्मेवारी माओवादीको भएको समेत बताउनुभयो । कांग्रेस र एमालेले माटोमा पुरिसकेको संविधानसभालाई माओवादीको १० वर्षे सशस्त्र जनयुद्धले ब्युँताएको उहाँको भनाई छ ।