हेटौँडा : चितवन हुँदै मकवानपुरको राक्सिराङ गाउँपालिकाका ३ वटा वडा जानु पर्ने बाध्यता हटेको छ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका ३ वटा वडाका स्थानीयहरु सोझै मनहरीबाट हेटौँडा आउन सक्ने गरी सडक पूर्वाधार संचालनमा आएको छ ।
हेटौंडा र गाउँपालिकाको केन्द्र चैनपुर आउन पनि राक्सिराङ–६, ७ र ८ का स्थानीयलाई चितवनको राप्ती नगरपालिकाको परेवाकोट वा भण्डारा हुँदै जानुपर्ने बाध्यता रहेको थियो । मनहरी–६ स्थित लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ–६ स्थित पाङ्थली जोड्ने मोटर बाटो ट्रयाक खुलेपछि राक्सिराङका ३ वटा वडाका स्थानीयलाई सहज भएको हो । लोथर–पाङ्थली सडकले पूर्णता पाएसँगै राक्सिराङका ३ वटा वडाका नागरिकको यात्रा १७ किलोमिटर छोटिएको हो । बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले निजी एक्साभेटरको प्रयोग गरी करिव ४ महिना लगाएर लोथर–पाङ्थली सडकको करिब ७ किलोमिटर ट्रयाक पूरा गरेको बताइएको छ । सो सडकमा मनहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरी स्तरीकरणको काम गरेपछि अहिले साना सवारी सञ्चालन हुन सक्ने अवस्था बनेको छ ।
शनिबार सभापति बानियाँसहित गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलगायतको उपस्थितिमा सो सडकको उद्घाटन गरिएको छ । आफ्नै कार्यकालमा मनहरी र राक्सिराङ जोड्ने सिदाम खोलामा मोटरेबल पुलसमेत हालेर सो सडकलाई स्थायित्व दिने नेता बानियाँले प्रतिवद्धता जनाउनुभएको छ । मनहरी र राक्सिराङका जनताले भीरको बाटो बुट्यान समाएर हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्नको लागि आफूले व्यक्तिगत रुपमा पहल गरेर लोथरबाट राक्सिराङको विकट भेग पुग्ने छोटो बाटो निर्माण गरिएको बानियाँले बताउनुभयो ।
यसअघि राक्सिराङ–६ को सिलिङ्गे, सिलाधुनी, राक्सिराङ–७ को दामराङ, धिराङ, चरिमारा र राक्सिराङ–८ नम्बर वडाको ठुलो टोड्के, सानो टोड्के लगायतका नागरिकाले भण्डाराबाट २ घण्टाको कच्ची सडकको यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । लोथरबाट नयाँ बनेको बाटोबाट पाङथली हुँदै राक्सिराङ–६ को सिलिङ्गेबाट चेपाङ राजमार्गको दुइटार पुग्न सकिन्छ भने बाङराङबाट सिलाधुनी चरिमारा गैजुराङबाट खैराङ र कैलाश गाउँपालिकाको बैकुण्ठसम्म पनि निस्कन सकिनेछ ।
मनहरी–६ स्थित लोथरबाट हिलेदमार हुँदै पाङ्थली जोडिएपछि यात्राको समय आधा छोटिएको राक्सिराङ–६ का वडाध्यक्ष अक्कलबहादुर मोक्तानले बताउनुभयो । हिउँदमा सडक सञ्चालन हुने अवस्था भए तापनि पक्की पुल निर्माण र थप स्तरीकरण गराई बाह्रै महिना सवारी सञ्चालन गर्न सबैले ध्यान दिनुपर्ने मोक्तानको भनाइ छ । सडक उद्घाटन कार्यक्रममा बोल्दै मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले सडक स्तरीकरण गर्न गाउँपालिकाले ३० लाख रुपैयाँ लगानी गरेको जानकारी दिनुभयो । आगामी दिनमा सडकको नाला निर्माण र थप स्तरीकरण गर्न गाउँपालिकाले बजेट विनियोजन गर्ने अध्यक्ष कालाखेतीले बताउनुभयो । यसैबीच मनहरी गाउँपालिकाले शनिबार नै मनहरी–९, ज्यामिरे सिरानमा ३५ घरपरिवारलाई खानेपानीको मिटर निशुल्क वितरण गरेको छ । त्यस्तै मनहरी–६ का अशक्त पशुपति थापालाई गाउँपालिकाले ह्वीलचियरसमेत सहयोग गरेको छ ।











