हेटौँडा : कक्षा–१२ को वार्षिक परीक्षा आज आइतबारबाट सुरु भएको छ । यसअघि बैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा विद्यालय शिक्षकको आन्दोलनका कारण स्थगित भएको थियो । शिक्षक आन्दोलनका बाबजुद वैकल्पिक जनशक्ति व्यवस्थापन गरेर भए पनि १२ कक्षाको वार्षिक परीक्षा लिने तयारी गरेको सरकारले अन्ततः परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।
आन्दोलनरत शिक्षकहरुसँग सहमति भएसँगै कक्षा–१२ को परीक्षा निश्चित भएको थियो । परीक्षा बिहान ८ बजेबाट सुरु भएको थियो । राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका निमित्त प्रमुख जनार्दन बास्तोलाले पहिलो दिनको परीक्षा सौहाद्र्ध वातावरणमा सञ्चालन भएको जानकारी दिनुभयो । निमित्त प्रमुख बास्तोलाले छोटो समयमा भए पनि केन्द्राध्यक्षहरुलाई अभिुमखीकरण गराइएको बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयले मकवानपुरसहित चितवन, बारा, पर्सा र रौतहट जिल्लामा परीक्षा सञ्चालन गर्नेछ ।
बोर्डको हेटौँडास्थित कार्यालयले हेर्ने मकवानपुरसहित ५ जिल्लामा १ सय ५३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ४७ हजार ७ सय ८३ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् । मकवानपुरमा २१ वटा परीक्षा केन्द्र तोकिएको छ भने चितवनमा ५२, रौतहटमा ३१, बारामा २३ र पर्सामा २६ वटा परीक्षा केन्द्र तोकिएको छ । मकवानपुरमा ७ हजार २ सय ८९ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् भने चितवनमा १४ हजार ४ सय २४, रौतहटमा ८ हजार ७ सय ५९ जना, बारामा ७ हजार ४ सय ४८ जना र पर्सामा ९ हजार ८ सय ६३ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् ।











