छात्रावास सिलान्यास गर्नुहुँदै संघीय सांसद महेशकुमार बर्तौला ।

हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४, फाखेलस्थित कालिका माध्यमिक विद्यालयको छात्रावास भवन निर्माण कार्यको सुरुवात गरिएको छ । संघीय सांसद महेशकुमार बर्तौलाले शुक्रबार बिहान सिलान्यास गरी छात्रावास भवन निर्माण कार्यको औैपचारिक सुरुवात गर्नुभएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरको ३० लाख रुपैयाँ र गाउँपालिकाको ४४ लाख रुपैयाँसहित कुल ७४ लाख रुपैयाँ बजेट सुनिश्चित गरी ठेक्कामार्फत भवन निर्माणसम्बन्धी सम्झौता गरिएको छ । माध्यमिक तहमा बाली विज्ञान विषय अध्यापन हुने कालिका माविमा बाहिरबाट आउने विद्यार्थीलाई सहजता होस् भन्ने उद्देश्यले छात्रावास निर्माण गर्न लागिएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहनुभएका वडाध्यक्ष चन्द्रकुमार बलले जानकारी दिनुभयो ।

भवन सिलान्यास कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उमाकुमारी लामाको पनि उपस्थिति रहेको थियो । छात्रावास निर्माणपछि विद्यालयभन्दा टाढाबाट आउजाउ गर्नुपर्ने पालिकाभित्रकै विद्यार्थीलाई समेत सहजता हुने अध्यक्ष बलको भनाइ छ ।