Home मुख्य समाचार घूस दिएर उम्कने चालक फन्दामा

घूस दिएर उम्कने चालक फन्दामा

फाइल तस्विर

हेटौंडाः बागमती प्रदेश प्रहरीले घूस रकम लिने प्रहरीहरुलाई भट्टाभट्ट पक्राउ गरेर कारबाही गर्न सुरु गरेसँगै प्रहरीले घूस दिनेलाई पक्रन थालेका छन् । शुक्रबार पनि ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ४ जना सवारी चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा मुद्दा दायर गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले बताउनुभयो ।

पछिल्लो एक साताको अवधिमा मात्रै प्रहरीलाई घुस रकम दिन खोज्ने २० जना सवारी चालकहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सधै प्रहरीलाई घूस दिएर उम्कने चालकहरु पनि यो पटक भने प्रहरीको फन्दामा परेका छन् । विगतदेखि नै राँगा, भैंसी लोड गरेर ल्याउने गाडिहरु विवादमा आएपछि प्रहरीकै मिलेमतोमा पास हुने गरेका थिए । तर अहिले उनीहरु सबै फन्दामा पर्न थालेका छन् । शुक्रबार ४ जना चालकहरुले ड्युटीमा खटेका नेवारपानी चेकपोष्ट र हेटौंडा पशुपतिनगरको चेकपोष्टका प्रहरीहरुलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले ना ८ ख २४२२ नम्बरकोे डिब्बा गाडीको चालक मकवानपुरगढी गाउँपालिका–४ का जितेन्द्र विष्ट, ना ६ ख १५४३ नम्बरको ट्रकचालक रौतहट चन्द्रपुर नगरपालिका–६ का सुमन मगर, प्रदेश नं. २–०३००१ ख १४८७ नम्बरको ट्रकचालक रौतहट चन्द्रपुर नगरपालिका–४ का रामजन राई र को १ ख ७३०९ नम्बरको मिनिट्रकको चालक सिराहा जिल्ला गोलबजार नगरपालिका–८ का नौसाद मिक्रानलाई पक्राउ गरको हो । उनीहरुले सुरक्षा मापदण्ड विपरित भैंसी लोड गरी ल्याएकोमा घुस दिन खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले बताउनुभयो ।

लागूऔषधसहित नेपाल पक्राउ

हेटौंडाः मकवानपुर प्रहरीले लागूऔषधसहित पिकअप गाडि र चालक सुरेश नेपाललाई पक्राउ गरेको छ । बिहीबार इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीको टोलीले हेटौंडा–१५, लच्कास्थित पूर्व पश्चिम लोकमार्ग खण्डबाट लागूऔषध लुकाई छिपाई ल्याउँदै गरेको पिकअप गाडि सहित हेटौंडा–१५ का सुरेश नेपाललाई पक्राउ गरेको हो ।

ग १ च २८१७ नम्बरको भुसा लोड गरी आएको पिकअप गाडीलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा प्रहरीले उक्त गाडीबाट लागुऔषध डाईजेपाम १९३ एम्पुल, नुर्फिन २०३ एम्पुल र फेनारगन १८५ एम्पुल फेला पारेको थियो । उनीमाथि लागूऔषध ओसारपसार मुद्दा दायर गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

Exit mobile version