जमिनमुनि गाडी भासिएको स्थान ।

हेटौंडा : हेटौंडामा शुक्रवार अपरान्ह एक्कासी जमिनमुनि भासिएको माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी (भ्यान) बेपत्ता भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरीगाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको बलेरो गाडी (भ्यान) भासिएर जमिनमुनि बेपत्ता भएको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

उनका अनुसार रोकिराखेको ठाउँमा एक्कासी सडक भासिँदा उक्त भ्यान बेपत्ता भएको हो । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको प्रवक्ता अर्यालले बताउनुभयो ।

गाडीका चालक र सहचालकले भने गाडी भासिनुअघि नै निस्किएर जोगिएका थिए । गाडी भासिएको करिब ५ सेकेण्डमै हराएको प्रत्यक्षदर्शीहरुले बताएको प्रवक्ता अर्यालले बताउनुभयो ।

गाडी भासिएको नजिकै माछापालन गरिएको पोखरी र बोरिङ समेत रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ ।

पानीमा भासिएको गाडी नदेखिएको र पानीलाई निकास दिएर गाडीको खोजी कार्य भइरहेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।