हेटौँडा:सातौं संस्करणको सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप महिला फुटबल प्रतियोगिता आज शुक्रबारबाट हेटौँडा–६ स्थित गौरिटार रंगशालामा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा मकवानपुर र चितवन जिल्लाको टिमबीच खेल हुने भएको छ । आयोजक मकवानपुर जिल्ला फुुटबल संघले बिहीबार खेल तालिका सार्वजनिक गरेको छ ।

प्रतियोगितामा आयोजकसहित ८ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिससहित मकवानपुर, रौतहट, चितवन जिल्लाको टिमसहित बीरगन्ज युथ एकेडेमी, संकटा र नवजनजागृति युवा क्लबको सहभागिता रहनेछ ।

हेटौँडा उपमहानगरपालिकाको २५ लाख रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्को १५ लाख रुपैयाँ, भमिफेदी र कैलाश गाउँपालिकाको ३/३ लाख रुपैयाँसहित प्रतियोगिता आयोजनाका लागि विभिन्न क्षेत्रको सहयोग रहने बताइएको छ । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछ ।

प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा रहनुहुने बताइएको छ । मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । यसअघि पनि विष्टकै संयोजकत्वमा मूल समिति गठन गरिएको थियो ।