समीक्षा बैठकमा सहभागी मुख्यमन्त्री तथा मन्त्रीहरु ।

हेटौँडा : बागमती प्रदेश सरकारको कार्यसम्पादनमा अर्थ मन्त्रालय र कर्मचारीका कारण समस्या भएको बताइएको छ । मंगलबार बिहान ९ बजेदेखि १ बजेसम्म संचालन भएको छलफलमा अर्थ मन्त्रालय र कर्मचारीका कारण कार्यसम्पादनमा समस्या भएको बताइएको हो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माणका लागि बनेको दलीय कार्यदलको आयोजनामा भएको समीक्षा बैठकमा सहभागी मन्त्रीहरुले कर्मचारी व्यवस्थापन समस्या हुँदा कार्यसम्पादन कमजोर भएको बताएका हुन् । उनीहरुले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले अनावश्यक रुपमा फाइल रोक्ने काम गरेकाले काम अघि बढाउन समस्या भएको बताएका थिए । छलफलमा भाग लिएका एक नेताका अनुसार अर्थमन्त्रीले बजेट कार्यक्रम कार्यान्वयन तथा विभिन्न योजनाको फाइल स्वीकृतिका लागि पठाउँदा रोक्ने काम गरेको मन्त्रीहरुले गुनासो गरेका थिए । अर्थ मन्त्रालयबाट समयमा नै फाइलहरु स्वीकृत नहुँदा समस्या भएको मन्त्रीहरुले बताएको ति नेताले बताए ।

‘धेरै मन्त्रीहरुको गुनासो र समस्या सुन्न आएको थियो । विशेषगरी अर्थ मन्त्रालयबाट सहयोग नभएको गुनासो बढी आयो । अर्थ मन्त्रालयले समयमा नै फाइलहरु स्वीकृत नगर्दा, लामो समयसम्म अड्काएर राख्दा समस्या भएको मन्त्रीहरुको गुनासो आएको थियो ।’ ति नेताले भने, ‘विपद् व्यवस्थापन तथा अन्य योजनाहरुको रकमान्तर तथा बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा स्वीकृत गर्न प्रस्ताव तयार गरी पठाउँदा अर्थमन्त्रीको गृह जिल्लामा कति बजेट पठाउने भन्दै बार्गेनिङ गरेको गुनासो आएको छ ।’

बजेट कार्यान्वयन तथा विकास निर्माणका काममा अर्थमन्त्रीबाट सहज वातावरण तयार नभएको मन्त्रीहरुको गुनासो रहेको बैठकमा सहभागी अर्का एक सदस्यले बताए । बैठकमा अधिकांश मन्त्रीहरुले अर्थमन्त्रीका कारण काम गर्न असहज भएको बताएको उनको भनाई छ । केही मन्त्रीहरु फाइल अघि नबढाएर जिल्ला केन्द्रीत भएको र आफ्नो मन्त्रालयको काममा बाधा पुगेको भन्दै चर्काचर्कीमा उत्रिएको ति सदस्यले बताए । ति सदस्यका अनुसार अर्थ मन्त्रालयले यातायात मन्त्रालय, खेलकुद मन्त्रालय, कृषि मन्त्रालय, भौतिक मन्त्रालयको फाइल रोकेर अर्थमन्त्रीको आलोचना गरेका थिए ।

बैठकमा कार्यदलमा सहभागी संसदीय दलका नेता तथा सचेतकहरुले पनि अर्थमन्त्रीले मनोमानी ढंगबाट अघि बढेको बताएका थिए । उनीहरुले साझेदारी सरकारमा सहमति अनुसार अघि बढ्नु पर्ने भएपनि अर्थमन्त्री फरक ढंगबाट चल्ने गरेको आरोप लगाएका थिए । बैठकमा मन्त्रीहरुले कर्मचारी व्यवस्थापन नहुँदा पनि काम गर्न समस्या भएको बताएका थिए । संघीय सरकारले तारान्तर सचिवहरु फेर्ने, कर्मचारीहरु जिम्मेवार नबन्ने, गम्भीरताका साथ काम नगर्ने समस्याका कारण कार्यसम्पादनमा कठिनाइ भएको बताएका थिए । बैठकमा आगामी आर्थिक वर्षको बजेट निर्माणमा तोकिएको सिलिङका सन्दर्भमा पनि मन्त्रीहरुले असन्तुष्टि व्यक्त गरेका थिए ।

उक्त विषयमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले विगतका भएका कमिकमजोरी सुधार गरेर अघि बढ्ने बताएका थिए । बैठकपछि प्रतिक्रिया दिँदै मन्त्री काफ्लेले नीति नियम संगत ढंगबाट मन्त्रालयहरुले काम गरेको बताए । प्रदेश सरकारले विगतको समस्या हल गर्दै आम नागरिकको हितमा काम गरेका उनले बताए । सरकारको रफतार निरन्तर बढी रहेको र सरकारका मन्त्रीको कार्यसम्पादन समग्रमा सन्तोषजनक रहेको बताएका थिए । उनका अनुसार सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटलाई व्यवस्थित गर्ने विषयमा मन्त्रालयहरुले काम गर्नुपर्ने धारणा आएको थियो । सरकारको राजस्व संकलन, राजस्व चुहावट नियन्त्रणमा मन्त्रालय र कर्मचारीहरु गम्भीर भएर लाग्नु पर्ने उनले बताए ।

विभागीय मन्त्रालयहरुको कार्यप्रगति र समस्याका विषय बैठकमा छलफल गरिएको मन्त्री काफलेले बताए । आगामी आर्थिक वर्षको बजेटको तालमेलको विषयमा मन्त्रालय, मन्त्री र सदलका नेताहरु बिच छलफल गरिएको उनको भनाई छ । उनका अनुसार आर्थिक प्रगति प्राप्तिका लागि अर्थ मन्त्रालयले निर्देशनात्मक भूमिका खेलेको छ । साथै राजस्व चुहावटको विषयलाई लिएर विज्ञ समितिको प्रतिवेदनमाथि समीक्षा भएको छ । मन्त्रीहरुले कम बजोटमा पनि धेरै काम गर्नुपर्ने बाध्यात्मक परिस्थितीमा कर्मचारीहरु कार्यक्रममा छुट्याएको रकम नै लुकाउन, मन्त्रीहरुलाई जानकारी नै नदिई कार्यक्रमहरु संचालन गर्ने, अनुकुलतामा योजनाहरु संचालन अग्रसर भएको आरोप लगाएका थिए । मन्त्रालयका कर्मचारीहरु नागरिकको माग र आवश्यकता भन्दा पनि आफ्नो सहजतामा काम गर्ने प्रवृत्तिमा अघि बढेको मन्त्रीहरुले बताएका थिए ।

समीक्षा बैठकमा हालसम्म प्रदेश सरकारले सम्पादन गरेका काम कारवाही, आगामी नीति योजना, मन्त्रालयगत प्रगति र मुख्यतया बजेट सीमाका विषयमा छलफल गरिएको कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले बताए । उपनेता चित्रकारका अनुसार पछिल्लो समय सरकारको भौतिक तथा वित्तीय प्रगति वृद्धि भइरहेको छ । सरकारको बजेट रकम हरेक आर्थिक वर्षमा घटिरहेको अवस्थामा नागरिक केन्द्रित भएर आगामी बजेटलाई कसरी बढाउने भन्ने विषयमा छलफल गरिएको उनले बताए । मन्त्रालयले लक्ष्य अनुरुपको राजस्व रकम उठाउन कसरी पहलकदमी चाल्न निर्देशन गरिएको उनले बताए । बैठकले चालू आर्थिक वर्षको चैतसम्ममा बागमतीमा सरकारको कार्यसम्पादन सन्तोषजनक रहेको निश्कर्ष निकालेको उनले बताए ।

बैठकमा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामासहित १३ जना मन्त्री, एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, प्रमुख सचेतक गोविन्द लम्साल, एमाले संसदीय दलका सचेतक मदुसुदन पौडेल लगायतको सहभागिता रहेको थियो ।